सरकारी कर्मचारीलाई संवैधानिक निकायमा नियुक्ति गर्दा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्न कोइरालाको सुझाव


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उच्च पदस्थ सरकारी कर्मचारीलाई संवैधानिक निकायमा नियुक्ति गर्दा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नुपर्ने बताएका छन् ।
आइतबार सामाजिक संजालमार्फत कोइरालाले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई संबैधानिक निकाय, राजदुत वा अन्य पदमा नियुक्ति गर्दा कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्दछ । यसले पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ ईन्ट्रेष्टलाई कम गर्न मद्दत गर्दछ ।’
संसदीय उपसमितिले राज्य व्यवस्था तथा सुशासन समितिलाई राजनीतिक नियुक्तिका लागि कर्मचारीलाई एक वर्ष ‘कुलिङ पिरियड’ राख्नुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको छ । निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले १ वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति नपाउने व्यवस्था गरिएको छ, तर सरकारले गर्ने कूटनीतिक नियुक्ति वा नेपालको संविधानबमोजिम न्यायपरिषद्को सिफारिसमा न्यायाधीश पदमा हुने नियुक्ति पाउन बाधा नपुग्ने उल्लेख गरिएको छ ।