`

शिक्षामन्त्रीले राजीनामा दिनु जरूरी नै थिएनः सांसद थापा

Nepal One HD ८ वैशाख २०८२ २१:३४
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले शिक्षा मन्त्री विद्या भट्टराईले दिएको राजीनामा स्वीकृत नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि सामाजिक संजालमार्फत सांसद थापाले राजीनामा असान्दर्भिक रहेको भन्दै स्वीकृत नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । उनले भनेका छन्, ‘उहाँले राजीनामा दिनु जरूरी नै थिएन । मेरो सुझाव छ– उहाँको राजीनामा स्वीकृत नगरियोस्, ताकि संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि ११० दफासम्म पुगेको छलफल यही रफ्तारमा अघि बढ्न/बढाउन संभव हुनेछ !’

भट्टराई स्वास्थ्यको कारण देखाउँदै सोमबार पदबाट राजीनामा दिएकी थिइन्।

यस्तो छ सांसद थापाको भनाई

शिक्षामन्त्री विद्या भट्टराईले आज पदबाट दिनुभएको राजीनामा अनपेक्षित र असान्दर्भिक हो । उहाँले राजीनामा दिनु जरूरी नै थिएन । मेरो सुझाव छ– उहाँको राजीनामा स्वीकृत नगरियोस्, ताकि संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि ११० दफासम्म पुगेको छलफल यही रफ्तारमा अघि बढ्न÷बढाउन संभव हुनेछ !

उहाँले नराम्रो केही गर्नुभएको थिएन । शिष्ट, विनम्र, शालीन, अनुभवी र गम्भीर व्यक्तित्वका साथ उहाँले बिना धाक रवाफ विमारी अवस्था र शल्यक्रियाका बाबजुद यस कामलाई निष्कर्षमा पुर्याउन बडो निष्ठाका साथ कोसिस गरिरहनुभएको थियो । बरू शिक्षक महासंघको आन्दोलनरत नेतृत्वले आवश्यक र अनिवार्य समन्वय/सहयोग नगरी उहाँको राजीनामाको माग गरेको तथ्य स्थापित खोज पत्रकार मकर श्रेष्ठले यसरी स्टाटसमा लेख्नुभएको छ ।

मेरो बुझाइ र विश्लेषणमा विद्यालय शिक्षा विधेयक पारित हुन अब केही महिना ढिलो हुने स्थिति सिर्जना भयो । प्रधानमन्त्रीज्यूले वैशाख २३ गते प्रतिनिधिसभामा टेबुल हुने दिन नै तोकेर शिक्षक नेतारूलाई स्पष्ट भन्नुभएको थियोे । उहाँहरूले सडक प्रदर्शनी जारी राख्नुभएको देखियो । र, घटनाक्रम शिक्षामन्त्रीको राजीनामासम्म पुगेको छ । वैशाख २३ वा बजेटअघिको निकट मितिमा सम्बन्धित संसदीय समितिलाई विधेयकमाथिको सम्पूर्ण काम पूरा गर्न अब सम्भव नहुने स्थिति सिर्जना भयो कि ?

जुनसुकै विधेयकमाथिको छलफल अघि बढ्न सम्बन्धित मन्त्रालयका मन्त्री र अधिकारीहरूको उपस्थिति अनिवार्य हुन्छ । यसको अत्यावश्यक प्रबन्ध मिलाउन र नयाँ मन्त्रीले विधेयकको समग्र विषयवस्तु बुझेर जिम्मेवारीपूर्वक समितिमा हुने दफावार छलफलमा सहभागी हुन त केही समय लाग्ने नै देखियो ।


प्रतिक्रिया