`

सरकारसँग शिक्षक महासंघले राख्यो आफ्नो अडान, भएन सहमति

Nepal One HD १३ वैशाख २०८२ १०:०८
प्रमुख खबर

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता शनिबार बिहान वार्ता भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भएको हो ।

वार्तामा महासंघका पदाधिकारीले विद्यालय शिक्षा ऐन जारी गर्नका लागि आफूहरुले आन्दोलन गर्नुपरेको जानकारी गराएका थिए । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्तामा आफूहरुले अडानबाट टसमस नहुने जानकारी गराएको बताएका छन् ।

वार्तापछि अध्यक्ष सुवेवदीले भने, ‘हामीले मन्त्रालयमा उपस्थित भएर हाम्रा कुरा राख्यौं । अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउनु नै आन्दोलनको अडान हो र यसबाट नेपाल शिक्षक महसंघ टसमस नहुने जानकारी गराइयो ।’

वार्तामा सरकारको तर्फबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दीपक काफ्ले तथा नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष सुवेदीसहितका प्रतिनिधिहरू सहभागी थिए ।

यसअघि शुक्रबार शिक्षा मन्त्रालयले आफूखुसी शिक्षकहरुको तर्फबाट वार्तामा बस्ने २५ जनाको नाम सार्बजनिक गरेपछि महासंघसँगको वार्ता भाँडिएको थियो । चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।


प्रतिक्रिया