`

‘सातै प्रदेशमा जलनको सघन उपचार व्यवस्था स्वागतयोग्य’ – रास्वपाका सांसद कंसाकार

Nepal One HD २२ वैशाख २०८२ २१:०४
राजनीति

काठमाडौँ, २२ वैशाखः राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विन्दबासिनी कंसाकारले सातै प्रदेशमा जलनको सघन उपचारको व्यवस्था गरिने नीति स्वागतयोग्य रहेको बताउनुभएको छ । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले जलनको सघन उपचार सेवा विस्तार गर्ने नीतिको प्रशंसा गर्नुभयो ।

“तर जलन सघन सेवा विस्तारका नाममा छुट्टाइएको रकम अन्य पूर्वाधार विकासमा खर्च गर्न हुँदैन, यसो गरियो भने जनताको विश्वासमा ठेस पुग्छ”, उहाँले भन्नुभयो, “समयमा नै उपचार नपाउँदा जलनबाट घाइतेहरुले अकालमा ज्यान गुमाइरहेका छन् ।” उहाँले आवश्यक उपकरण र तालिमप्राप्त जनशक्ति उपलब्ध गराउन सुझाव दिनुभयो । आफ्ना लागि आफैँ केही गर्न नसकेका बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई हेरचाह गर्ने व्यक्तिलाई निरन्तर हेरचाह गर्न सहयोगीको व्यवस्था हुनुपर्ने माग उहाँको छ ।

यसैगरी सांसद मेटमणि चौधरीले सरकारको लक्ष्य समृद्ध नेपाल र सुखी नेपाली भएकाले लक्ष्य पूरा हुनेमा कुनै उत्साह नथपिएको बताउनुभयो । सरकारले आफ्नो लक्ष्य पूरा गर्न नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिन उहाँको सुझाव छ ।

“वैदेशिक घाटा न्यूनीकरणका लागि स्पष्ट नीति आएन । हामी कानुनी राज्यको कुरा गर्छौं । तर भागबन्डाको आधारमा नियुक्ति प्रक्रिया हुन्छ । अनि त्यो राजनीतिक दलप्रति जिम्मेवार बन्छ । उ नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि जिम्मेवार बन्न सक्दैन”, उहाँले भन्नुभयो ।

सांसद रन्जुकुमारी झाले सरकारले पेस गरेको नीति तथा कार्यक्रम संविधान सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने नीति स्वागतयोग्य रहेको बताउनुभयो । जलवायु परिवर्तन, युवा महिला, उद्यम विकासलगायतका विषय राम्रो रहेको उल्लेख गर्दै झाले कार्यान्वयनमा उदासिन नहुन सुझाव दिनुभयो ।

सांसद प्रकाश अधिकारीले स्रोत साधनको भरपुर उपभोग हुनुपर्ने र कृषि, प्राकृतिक स्रोतको उपभोग, पर्यटन विकास आयआर्जनको क्षेत्र रहेकाले यिनीहरुलाई प्राथमिकताको क्षेत्रका रुपमा हेर्नुपर्ने बताउनुभयो । स्नातक नपढ्दै विदेश पलाएकालाई पढ्दै कमाउँदै नीति प्रभावकारी हुने उहाँको भनाइ छ ।


प्रतिक्रिया