आँबुखैरेनीका किसानले उत्पादन गरेका फापर गाउँपालिकाद्वारा खरिद


दमौली (तनहुँ), २३ वैशाखः आँबुखैरेनी गाउँपालिकाले यहाँका नौ जना कृषकद्वारा उत्पादित छ सय ५० किलो फापर हाटबजारमार्फत खरिद गरी बिक्री गर्न थालेको छ । मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष गुरुङ, धनबहादुर गुरुङ, सुखमाया गुरुङ, सन्तोष गुरुङ र प्रकाश गुरुङद्वारा उत्पादित फापर पालिकाले खरिद गरेको हो ।
आँबुखैरेनी-६ प्युघरका सेतीले विगतका वर्षहरूमा प्रतिकिलो रु ६० मा फापर बिक्री हुने गरेको बताउँदै अहिले पालिकाले प्रतिकिलो रु एक सय ५० का दरले खरिद गरेको जानकारी दिनुभयो । “यो वर्ष पालिकाले खरिद गरिदिएपछि विगतको तुलनामा करिब तीन गुणा बढी आम्दानी भएको छ”, उहाँले भन्नुभयो, “जति उत्पादन हुन्छ गाउँपालिकाले खरिद गरिदिन्छौँ भनेकाले हामीलाई हौसला मिलेको छ ।”
सोही स्थानका मिलनले फापर उत्पादनपश्चात् बिक्रीको समस्या नरहेको सुनाउनुभयो । “गाउँपालिकाले खरिद गरिदिने भएपछि यसमा लाग्न थप प्रेरणा प्राप्त भएको छ”, उहाँले भन्नुभयो ।
ग्रामीण क्षेत्रका कृषकको खेतबारीमा उत्पादित रैथाने उपज फापरलाई उपभोक्तासम्म जोड्ने प्रयास गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताउनुभयो । विगतमा यहाँका कृषकले विचौलियामार्फत प्रतिकिलो रु ६० मा फापर बिक्री गर्दै आएकामा पालिकाले हाटबजारमार्फत प्रतिकिलो रु एक सय ५० मा बिक्री गरिरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यसले गर्दा कृषकले विचौलियालाई बिक्री गर्नुपरेको छैन । कृषकले पनि विगतको भन्दा बढी रकम पाउनुभयो ।” केसीले कृषकको बारीबाट हाटबजारसम्म निःशुल्क ढुवानीको व्यवस्था गरिएको बताउनुभयो आँबुखैरेनी–६ का प्युघर, डिहीखेत, घलडाँडा, रतनपुर, हिलेखर्कलगायत क्षेत्रमा फापर उत्पादन हुने गर्दछ । यहाँ वार्षिक करिब पाँच टन फापर उत्पादन हुने कृषि शाखा प्रमुख केसीले जानकारी दिनुभयो ।