`

मन्त्रीको क्षेत्रमा धेरै र सांसदको क्षेत्रमा कम बजेट भए बजेट च्यातिन सक्छः सांसद खतिवडा

Nepal One HD २८ वैशाख २०८२ १३:१७
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट च्यात्ने अवस्था नआउनेतर्फ सचेत रहन सरकारलाई चेतावनी दिएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद खतिवडाले मन्त्रीहरुलाई आफ्नो क्षेत्रमा मात्र बजेट नलैजान सचेत गराएका हुन् ।

उनले भने, ‘छिट्टै बजेट आउँदैछ। म माननीय मन्त्रीजीहरुलाई आग्रह गर्न चाहन्छु–मन्त्रीको क्षेत्रमा अलि धेरै, माननीयको क्षेत्रमा अलि कम भयो भने बजेट च्यात्ने अवस्था नआओस्। त्यो अनुरोध गर्न चाहन्छु।’

सांसद खतिवडाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय एउटै र निवास फरक बनाउन आग्रह गरे । उनले यसो गरेमा सरकारको खर्च कटौती हुने बताए ।

उनले सार्वजनिक ऋण अहिले २६ अर्ब पुगेको र साधारण खर्च राजश्वले धान्न सक्ने अवस्था नरहेको भन्दै ऋण लिएर ऋण तिर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए ।

उनले भने, ‘खर्च कटौती कसरी गर्न सकिन्छ, त्यतातिर सरकारको ध्यान जानुपर्दछ । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका कर्मचारी एउटै रहने, निवास फरक रहने व्यवस्था भयो भने अलिकता यसलाई सहजता हुन्छ ।’


प्रतिक्रिया