`

बिपी राजमार्ग पुनः संचालनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

Nepal One HD ३० वैशाख २०८२ १२:०७
प्रमुख खबर

काठमाडौं । सांसदहरूले रोशीखोलामा आएको बाढीले अवरुद्ध बिपी राजमार्ग पुनः संचालनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले अवरुद्ध राजमार्ग खुलाउनेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा माओवादी सांसद सूर्यमान दोङले क्षतिग्रस्त बनेको सडकको विकल्पमा तेमाल सडक बनाउन ध्यानाकर्षण गराएका छन् । सांसद दोङले बाढीका कारण बिपी राजमार्गपूर्णरुपमा अवरुद्ध भएको र सीमानामा धेरै विरामी अलपत्र परेका बताए ।

उनले भने, ‘काभ्रेमा एकजना महिला फेरि बेपत्ता भएको छ, पनौतीदेखि पूर्वी क्षेत्रको यातायात फेरि ठप्प भएको छ । यतिबेला सिन्धुली र काभ्रेको सीमानामा ५० औं बिरामी अलपत्र परेका छन्। एम्बुलेन्स लगायतका सवारी साधन ठप्प छन् । क्षतिग्रस्त बनेको सडकको विकल्पमा तेमाल सडक बनाउन ध्यानाकर्षण गराउँछु ।’

त्यस्तै नेकपा माओवादी केन्द्रका अर्का सांसद लेखनाथ दाहालले रोशीको बाढीका कारण बीपी राजमार्ग १४ ठाउँमा अवरुद्ध भएकोले सुचारु गराउन सरकारको ध्यानाकर्षण गराए ।

उनले अवरुद्ध बनेको राजमार्ग तत्काल खुलाउनका लागि विपद् कोषमार्फत अत्यावस्यक तयारी थाल्न र खहरे नियन्त्रण बजेट व्यवस्था गर्न माग गरेका छन् । अघिल्लो पटक बाढी आउँदा पनि सरकारले प्रभावकारी उद्धार र राहत वितरणको काम नगरेको उनले बताए ।

उनले भने, ‘त्यतिबेला पनि सरकारबाट राहत र उद्धाकार लागि प्रभावकारी पहल भएन। पुर्नस्थापना र पुनर्निर्माणमा संघीय सरकारको ध्यान गएको छैन।’


प्रतिक्रिया