`

पक्राउ पुर्जी जारी भएका सांसद प्रधानमन्त्रीसँग देखिनु सुशासनको नमूनाः सांसद बराली

Nepal One HD ३० वैशाख २०८२ १३:३३
प्रमुख खबर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले अहिलेको सरकारले सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद बरालीले पक्राउ पुर्जी जारी भएका सांसद प्रधानमन्त्रीसँगै देखिनु सुशासनको नमुना भएको बताएका हुन् ।

उनले प्रहरीले नभेटेका एमाले सांसद कसरी प्रधानमन्त्रीसँग कुम जुधाएर बसे भन्दै प्रश्न गरे । उनले भने, ‘पक्राउ पुर्जी जारी भएको आफ्नै सांसद छन् । प्रहरी प्रशासन जाँदा भेट नभएको जानकारी आउँछ । प्रधानमन्त्रीसँग कुम जुधाएर मञ्चमा बस्ने । सुशासनको कुन चाहिँ नमुना हो ? यो सरकारले सुशासनको कुरा गर्नु बेकार छ ।’

पक्राउ पुर्जी जारी भएका एमाले प्रदेश सांसद विष्णु पन्थी सोमबार लुम्बिनीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसँगै देखिएका थिए । पन्थीविरुद्ध २०८१ जेठमा जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको थियो। तर, उनी अझै पक्राउ परेका छैनन् ।


प्रतिक्रिया