कांग्रेस महामन्त्रीद्वयले सरकारको नीति तथा कार्यक्रमको समर्थन गर्न नसकेर छलफलमा भाग लिएनन्ः सांसद शाही


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारको नीति तथा कार्यक्रममा भाग नलिएको भन्दै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको खोजी गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेटका प्राथमिकता र सिद्धान्त माथिको छलफलमा भाग लिँदै प्रमुख सेचतक शाहीले सरकारको नीति तथा कार्यक्रमको समर्थन गर्न नसकेर महामन्त्रीद्वय संसदमा नआएको बताए । उनले प्रमुख सत्तारुढ दलकै महामन्त्रीहरु संसदमा उपस्थित नहुनुले संसदको महत्व घट्दै गएको बताए ।
उनले भने, ‘नेपाली कांग्रेसमा दुई जना शसक्त युवा नेता हुनुहुन्छ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा । तर आश्चर्यको कुरा उहाँहरुलाई यहाँ कतै देखेनौं । नीति तथा कार्यक्रममा कही पनि देखेनौं । किन प्रश्न गरिरहेका छौं भने संसद्को सबभन्दा ठूलो सरकारमा सहभागी भएको दल पनि हो उहाँहरूलाई कस्तो भएको छ भने– नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार । विरोध गरौं– आफ्नै पार्टी सरकारमा छ, के विरोध गरौं ? नगरौं मनले मानेको छैन, बरु संसद् नै छाड्दिऔं आनन्दै !’
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा यसपटक महामन्त्रीद्वयले भाग लिएनन् ।