नेपालको व्यापार घाटा बढेर १२ खर्ब ५६ अर्ब पुग्यो


काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा १४ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको छ ।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार १० महिनामा विभिन्न मुलुकबाट १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालबाट २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको मात्रै वस्तु आयात भएको थियो । आयातसँगै नेपालको निर्यातमा पनि उल्लेख्य वृद्धि भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने नेपालबाट १ खर्ब २६ अर्ब रुपैयाँ बराबरको मात्रै निर्यात भएको थियो जुन यस वर्षको तुलनामा ७२.७१ प्रतिशतले कम हो ।
विभागको तथ्यांअनुसार दश महिनाको नेपालको व्यापार घाटा ६.७२ प्रतिशतले बढेर १२ खर्ब ५६ अर्ब २७ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा भने यस्तो व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो ।