मागको एक चौथाइ आएपछि जुनसुकै मन्त्री आएपनि मलको हाहाकार भइहाल्छः मन्त्री अधिकारी


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जुनसकै मन्त्री आएपनि मलको हाहाकारमा कमी नहुने बताएका छन् ।
नेपाल डेरी एशोसियसनले बिहीबार काठमाडौंमा गरेको दही चिउरा प्रवद्र्धन कार्यक्रममा मन्त्री अधिकारीले जोसुकै मन्त्री आएपनि मलको हाहाकार हुने बताएका हुन् ।
उनले बजारमा मलको माग ११ लाख देखि १३ लाख टन रहेकोमा त्यसको एक चौथाइ मलले माग पूरा गर्न नसकिने बताए ।
उनले भने, ‘जोसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ । सरकारले गत वर्ष मल खरिदका लागि २७ अर्ब ९५ करोड बजेट विनियोन गरेको थियो । त्यसबाट साढे ४ लाख टन भन्दा धेरै मल आउँदै आउँदैन । बजारमा मलको माग ११ लाख देखि १३ लाख टन छ । अनि हाहाकार भइहाल्छ नि । राज्यप्रति दायित्व भइसकेपछि आउँछ आउँछ भनेर बोल्नु परेको छ ।’
उनले नेपालमा करिव १४ लाख हेक्टर जमिनमा धान खेती हुने गरेको र त्यसका लागि करिब २ लाख ३० हजार मेट्रिक टन रासायनिक मल आवश्यक हुने गरेको बताए ।
तर कृषि तथा पशुपंन्छी विकास मन्त्रालयको असार ९ सम्मको तथ्यांक अनुसार सरकारसँग यतिबेला ६६ हजार ४३३ मेट्रिक टन मात्रै रासायनिक मल मौज्दात रहेको छ । धान रोपाइँको मुख्य सिजनमा सरकारले किसानलाई आवश्यक मात्रामा मल उपलब्ध गराउन नसकेको गुनासो यतिबेला बढिरहेको छ ।