शिक्षा विधेयकमा सहमति खोज्न शिक्षा मन्त्रीको दौडधुप


काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन शिक्षामन्त्री रघुजी पन्तले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
संसदको शिक्षा समितिबाट विधेयक पारित गर्न समस्या भइरहेका बेला शिक्षामन्त्री पन्त देउवालाई भेट्न कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् ।
शिक्षामन्त्री आएपछि देउवा केन्द्रीय समिति बैठक छाडेर छलफलमा जुटेका हुन् । संसदीय समितिबाट पास भएर संसद्मा पुग्नु अघि केही विषयमा कुरा मिल्न सकेको छैन । विधेयकमा शिक्षक सेवा आयोगले परीक्षा लिँदा राहत र अस्थायीको लागि ६० र ४० प्रतिशतको व्यवस्था गरेको छ ।
तर महासंघले ७५ र २५ प्रतिशतको अनुपात राख्नुपर्ने माग गर्दै आएका छ । यी विषयमा सहमति जुटाउन शिक्षा समितिको बैठक नै रोकेर शिक्षामन्त्री छलफलमा जुटेका हुन् । त्यसअघि मन्त्रालयमा शिक्षामन्त्री पन्त र शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाबीच यही विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो ।
तर उनीहरुबीच कुरा नमिलेपछि शिक्षामन्त्री देउवालाई भेट्न पुगेका हुन् । त्यस्तै सरूवाका विषयमा पनि शिक्षकहरूको माग र विधेयकले गरेको व्यवस्था फरक छ ।
शिक्षकहरूले एक/एक वर्षमा सरूवा हुन पाउनुपर्ने माग राखेका थिए । तर विधेयकमा एउटै स्थानीय तहभित्रका विद्यालयमा सरूवामा दुई वर्षपछि, एउटा पालिकाबाट अर्को पालिकामा ५ वर्षमा र एउटा प्रदेशबाट अर्को प्रदेशमा ७ वर्षमा मात्रै सरूवा गर्न मिल्ने व्यवस्था राखिएको छ ।