रास्वपाले माग्यो समिति सभापति खतिवडाको राजीनामा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ ।
निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरेको बदमासीको जिम्मेवारी सभापतिले लिनुपर्ने भन्दै रास्वपाले राजीनामा मागेको हो ।
मंगलबार रास्वपाका प्रवक्ता मनिष झाले तपाईले संघीय सदनको रोस्टमबाट टेब्ल गरेको भन्दा फरक कुरा कसरी आयो ? भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘राज्य व्यवस्था समितिका सभापतिज्यू, निजामती विधेयकमा, तपाईंले संघीय सदनको रोस्टमबाट टेबल गरेको भन्दा फरक कुरा कसरी आयो ?की यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस् ।’
प्रवक्ता झाले पढ्दै नपढी विधेयक पारित गरिएको भन्दै सांसदहरुप्रतिसमेत कटाक्ष गरेका छन् । उनले भनेका छन्, ‘र, पढ्दै नपढेर ‘हुन्छ’ ‘हुँदैन’ भन्नेहरूलाई ‘कुरी कुरी ।’
आइतबार प्रतिनिधिसभाबाट पारित विधेयकमा निजामती सेवाबाट अवकाश पाएको कर्मचारीले कम्तीमा दुई वर्षसम्म अर्को कुनै नियुक्ति लिन नपाइने प्रावधान राखिएको थियो ।
तर त्यो प्रावधानलाई निष्प्रभावी बनाउने गरि त्यसमा ‘बाहेक’ भन्ने शब्द घुसाइएपछि अहिले त्यसले चौतर्फी विरोध सुरु भएको छ । यसले सार्वभौम संसदको अपमान भएको भन्दै यसमा संलग्नहरुलाई कारबाहीको माग गरिएको छ ।