मेरो कमजोरी देखिए म कारबाही भोग्छु तयार छुः सभापति खतिवडा


काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा गरिएको गडबडीको आफूले नैतिक जिम्मेवारी लिने बताएका छन् ।
मंगलबार सभामुखसँगको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै सभापति खतिवडाले कुलिङ पिरियडमा देखिएको कमजोरीको नैतिक जिम्मेवारी आफूले लिने बताएका हुन् । उनले यहाँ जनप्रतिनिधिको बदनाम गर्ने काम भएको भन्दै छानबिन गर्न माग गरे ।
उनले भने, ‘कहाँ कमजोरी भएको हो, छानबिन गर्छौँ । मेरो कमजोरी देखिए म कारबाही भोग्छु । जसको कमजोरी देखिन्छ, त्यसले कारबाही भोग्नुपर्छ । कोही उम्किन पाइन्न ।’
उनले अब छानबिन गरेर यो विषयको टुङ्गो नलागेसम्म समितिको बैठक पनि नबस्ने बताए। आइतबार प्रतिनिधिसभाबाट पारित विधेयकमा निजामती सेवाबाट अवकाश पाएको कर्मचारीले कम्तीमा दुई वर्षसम्म अर्को कुनै नियुक्ति लिन नपाइने प्रावधान राखिएको थियो ।
तर त्यो प्रावधानलाई निष्प्रभावी बनाउने गरि त्यसमा ‘बाहेक’ भन्ने शब्द घुसाइएपछि अहिले त्यसले चौतर्फी विरोध सुरु भएको छ । यसले सार्वभौम संसदको अपमान भएको भन्दै यसमा संलग्नहरुलाई कारबाहीको माग गरिएको छ ।