कुलिङ पिरियड हेरफेर सुनियोजित अपराध होः नारायणकाजी श्रेष्ठ


काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निजामती विधेयकबाट कुलिङ पिरियड“ गायब घटना सुनियोजित घटना भएको बताएका छन् । मंगलबार सामाजिक संजालमार्फत श्रेष्ठले यसमा संलग्न जोसुकै भएपनि कारबाही हुनुपर्ने बताएका हुन् ।
उनले यो घटनालाई सामान्य रुपमा लिन नहुने बताएका छन् । उनले भनेका छन्, ‘हद भयो । सीमापार गर्यो । लोकतन्त्र र जनप्रतिनिधिसंस्था संसदको यो भन्दा अवमूल्यन, अपमान र उपहास अरु के हुन्छ ? तसर्थ राज्यव्यवस्था समितिले पारित गरेको संघीय निजामती विधेयकलाई प्रतिनिधिसभामा हेरफेर गरेर पेश गर्ने दुष्कार्यको जिम्मेवारहरू माथि जोसुकै भएपनि कडा भन्दा कडा कारबाही हुनुपर्दछ । त्यसमाथि लामो समयसम्म राष्ट्रिय रुपमै बहस भई समितिले पारित गरेको ‘कुलिङ पिरियड’को विषयमा नै यसो गरिएकाले यसलाई सामान्य रुपमा लिनै मिल्दैन । यो कमजोरी होइन , सुनियोजित अपराध हो ।’