शिक्षा विधेयकमा सरकारले फेरि समय मागेपछि सांसदहरु असन्तुष्ट


काठमाडौँ । सरकारका कारण विद्यालय शिक्षा विधेयक पारित गर्न ढिलाइ हुने भएको छ । आइतबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षमन्त्री रघुजी पन्त्रले विद्यालय शिक्षा विधेयकमा सहमतिका लागि अझै केही समय मागेका हुन् ।
शिक्षामन्त्री पन्तले अझै सरोकारवालाहरुसँग केही विषयमा सहमति जुटाउन बाँकी रहेकोले समय आवश्यक रहेको बताए । मन्त्री पन्तले अझै केही समय मागेपछि सांसदहरुले सरकारले विभिन्न बहाना बनाएर विधेयकमा जुटेको सहमति समेत परिवर्तन हुने आशंका बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
बैठकमा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले बैठक रोकेर समय माग्नुमा गम्भीर षड्यन्त्रको गन्ध आएको आरोप लगाइन् । उनले भनिन्, ‘कहिले स्थगित र समयको माग हुनुको कारण बुझ्न सकिएन । यो बैठक रोकेर अरु नै धन्दा र षड्यन्त्र भइरहेको मलाई अनुभूति भइरहेको छ ।’
यसअघि गत सोमबारनै विधेयक पारित गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा शिक्षामन्त्री विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेका थिए ।
मन्त्रीको आग्रहपछि बैठक स्थगित गरिएको थियो । सरकारले आन्दोलनरत शिक्षकहरुसँग असार १५ गतेसम्म विधेयक पारित गर्ने सहमति गरेको भएपनि सो समयमा समितिमै यो विधेयक टुंगोमा पुग्न सकेको छैन ।