कीभमा रूसी ड्रोन आक्रमण, दुईजनाको मृत्यु


बीबीसी । यूक्रेनको राजधानी कीभमा रातभर चलेको रूसी ड्रोन आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आक्रमणपछि सहरका विभिन्न क्षेत्रमा आगलागी भएका दृश्य देखिएका छन् ।
कीभका अधिकारीहरूका अनुसार शेभचेनकिभ्स्की जिल्लास्थित एक आवासीय भवनको छतमा ड्रोनको भग्नावशेष खसेको छ। राजधानीका कम्तीमा ६ वटा जिल्लामा ड्रोन आक्रमण भएको पुष्टि गरिएको छ ।
कीभको सैन्य प्रशासनका प्रमुखले आवासीय भवन, सवारीसाधन, गोदाम, कार्यालय तथा अन्य संरचनाहरूमा आगलागी भएको जानकारी दिए । यूक्रेनी सेनाले बलिस्टिक क्षेप्यास्त्र आक्रमणको सम्भावनाबारे पनि चेतावनी दिएको छ ।
यसअघि मंगलबार राति यूक्रेनले अहिलेसम्मकै ठूलो हवाई आक्रमणको सामना गरेको जनाएको थियो, जब रूसी सेनाले ७२८ ड्रोन र १३ वटा क्रूज तथा बलिस्टिक मिसाइल प्रयोग गरी सहरहरूमा व्यापक हमला गरेको थियो ।