क्यानाडेली सामानमा ३५ प्रतिशत आयात शुल्क लागु हुने ट्रम्पको घोषणा


बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्ट १ देखि क्यानाडाबाट आयात हुने सामानमा ३५ प्रतिशत शुल्क लगाउने घोषणा गरेका छन् । दुई देशबीच नयाँ व्यापार सम्झौताका लागि निर्धारण गरिएको म्याद सकिन केही दिन मात्र बाँकी रहेका बेला ट्रम्पले यस्तो कदम चाल्ने चेतावनी दिएका हुन् ।
यो घोषणा ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ सोसियलमा प्रकाशित एक पत्रमार्फत सार्वजनिक गरिएको हो । पत्रमा अधिकांश व्यापार साझेदारहरूमाथि समेत १५ देखि २० प्रतिशतसम्मको आयात शुल्क लगाउने धम्की दिइएको छ ।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै क्यानाडाली श्रमिक र उद्योगको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । साथै उनले अमेरिकासँगको नयाँ सम्झौता तय गर्न अगस्टसम्म प्रयास जारी रहने स्पष्ट पारे ।
यसअघि नै क्यानाडाका केही वस्तुहरूमा २५ प्रतिशत आयात शुल्क लागू भइसकेको छ । साथसाथै ट्रम्प प्रशासनले इस्पात, एल्युमिनियम र गाडीमा लगाएको विश्वव्यापी शुल्कले क्यानाडा गम्भीर प्रभावित भएको छ ।
ट्रम्पले यो हप्ता मात्र जापान, दक्षिण कोरिया, श्रीलंका लगायतका २० भन्दा बढी देशका व्यापार साझेदारलाई यस्तै किसिमका पत्रहरू पठाएका छन् । उनले ती सबैमाथि पनि अगस्ट १ देखि शुल्क लागू गरिने चेतावनी दिएका छन्।