काठमाडौं महानगरपालिकाद्वारा २५ अर्ब ७६ करोडको बजेट प्रस्तुत


काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि बजेट प्रस्तुत गरेको छ । आइतबार नगरसभा बैठकमा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट पेश गरेकी हुन् ।
पूर्वाधारमा ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि बजेट छुट्याइएको छ । बजेटअघि नगरसभामा मेयर बालेन साहले नीति तथा कार्यक्रम पेश गरेका थिए। । नीति तथा कार्यक्रम पास गर्नासाथ उपमेयर डंगोलले बजेट पेश गरेकी हुन् ।
आगामी आर्थिक वर्षको लागि सन्चित कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने देखिएको छ । जसमध्ये काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र वैंङ्क मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको उपमेयर डंगोलले बताइन् ।
नेपाल सरकार तथा प्रदेश सरकारवाट सशर्त, समानीकरण, राजश्व बाँडफाँटबाट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित भएको उनको भनाई थियो ।
काठमाडौं टावर नक्सा पास विवाद सुरू भएयता झण्डै सात महिनापछि शुक्रबार मात्रै मेयर साहले कार्यपालिका बैठक डाकेका थिए । कार्यपालिकाले आज बजेट ल्याउने निर्णय गरेको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने र २५ गतेभित्र नगरसभाबाट पास गर्नुपर्ने प्रावधान छ। तर महानगरले भने कार्यकारी र मेयरको विवादका कारण बजेट समयमा आएको थिएन ।