दुई प्रतिपक्षी दलको विरोधमा संसद चल्नु इतिहासकै कालो समय: लिङदेन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले दुई प्रतिपक्षी दलहरूको विरोधका बाबजुद निरन्तर सदन चलाइरहेकोमा सभामुख देवराज घिमिरेको आलोचना गरेका छन् । उनले यसलाई संसदीय इतिहासकै कालो समयको संज्ञा दिए ।
आज संसद् बैठकको सुरुवातमा समय लिएर बोल्दै लिङदेनले भिजिट भिसाको विषयमा राप्रपा र रास्वपाले गरिरहेको विरोधलाई सभामुखले नजरअन्दाज गरेकोप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले भने, ‘संसदका दुई महत्त्वपूर्ण राजनीतिक पार्टीले डेढ महिनादेखि विरोध जनाइराख्दा जबरजस्ती संसद् चलाउने प्रयास भइरहेको छ । यो केवल सरकारको अकर्मण्यता र उदासीनता मात्र होइन, तपाईँको कार्यकालको सबैभन्दा कालो समय हो । सभामुखले प्रयास र पहल गर्नुपर्यो । प्रतिपक्षी दलहरूले उठाएको आवाजलाई सम्बोधन गराउने प्रयास गर्नुपर्यो ।’
उनले मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिँदा प्रधानमन्त्रीको सुशासन आयोग कहाँ छ भन्दै प्रश्न समेत उठाए।
उनले भने, ‘जनताले प्रधानमन्त्रीको सुशासन आयोग खोजिरहेका छन् । यदि नैतिकता छ, सुशासनप्रति अलिकति मात्रै प्रतिबद्धता छ भने मन्त्रीहरूको राजीनामा मागिनुपर्ने होइन ? उनीहरूलाई बर्खास्त गर्नुपर्ने होइन ? राजावादीलाई, गणतन्त्र विरोधीलाई तह लगायौँ भनेर डंका पिटेर जनतालाई भ्रम छरेको त छट्टु स्यालको कथा पो रहेछ । चिल आयो भन्ने अनि तल चल्ला टिप्ने अनि जनताको ध्यान एकातिर लगेर ठूला पार्टी मिलेर देश लुट्ने,’ ।
,