संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नेकपा (एमाले)की राष्ट्रियसभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।
‘नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष राजीनामा दिनुभएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय श्री भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ,’राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएसँगै न्यौपाने मन्त्रीमा नियुक्त भएकी हुन् ।
न्यौपाने राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् ।