`

सिस्नेरीका थापा च्याउखेतीमा लगानी बढाउँदै

Nepal One HD १ साउन २०८२ १५:४६
समाचार

गण्डकी। युवाहरूको विदेश मोह बढेसँगै देशव्यापी रूपमा कृषिप्रतिको अनाकर्षण बढिरहेको अवस्थामा पोखरा महानगरपालिका-११ का ध्रुवबहादुर थापाले भने व्यावसायिक च्याउखेतीमा लगानी बढाउँदै गएका छन्।

काहुँ सिस्नेरी एग्रो फार्म सञ्चालन गर्दै आएका उनले च्याउखेतीका लागि करिब एक करोड ५० लाख बढी लगानी गरिसकेका छन् । विगतमा खाद्यान्न आपूर्तिको काममार्फत व्यावसायिकतामा लागेका उनले कोरोना महामारीपछि व्यावसायिक रूपमा च्याउखेती सुरु गरेका हुन् ।

कोरोनाकालीन समयमा आएको व्यावसायिक च्याउखेतीको योजनालाई व्यवहारमा उतार्नुअघि विसं २०७४ देखि अध्ययन तथा प्रक्रियागत काम सुरु गरेका थिए । अहिले उनले चिस्यानसहितको आधुनिक प्रविधियुक्त टनेलमा च्याउखेती गरिरहेका छन् ।

विसं २०७७ फागुनमा चिस्यानसहितको प्रविधियुक्त टनेलको काम सकेपछि च्याउखेती थालेका उनले सुरुमा ५० लाख लगानी गरेको जानकारी दिए । उनका अनुसार सुरुमा १२ टन क्षमताको उक्त टनेलबाट प्रत्येक तीन महिनाको एक याममा दुई हजार ४०० किलोसम्म गोब्रे च्याउ उत्पादन भएको थियो ।

बजारको बढ्दो मागसँगै च्याउखेतीप्रतिको लगाव बढेपछि अहिले १२ टन क्षमताको टनेललाई विस्तार गरी २० टन बनाएको जनाउँदै थापाले थप २० टन क्षमताको टनेल निर्माण गरिरहेको बताए । बाह्र टन क्षमताको टनेलको क्षमता वृद्धिसँगै अर्को टनेल निर्माण गर्दा करिब ७० लाख लगानी भएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *