`

जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त

Nepal One HD १४ साउन २०८२ १५:३६
अर्थ समाचार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रका तीन प्रतिनिधिहरू कुस कुमार जोशी, विदुसी राणा र ज्योत्सना श्रेष्ठलाई बोर्ड अफ ट्रेड (Board of Trade) को विज्ञ सदस्यमा नियुक्त गरेको छ ।

मन्त्रालयको व्यापार नीति तथा व्यापार सहायता शाखाबाट जारी गरिएको नियुक्तिपत्रअनुसार तीनै जनालाई वाणिज्य नीति २०८१ को बुँदा १३ को व्यवस्थाअनुसार बोर्ड अफ ट्रेडमा नियुक्त गरिएको हो । यो नियुक्ति २०८२ साउन १३ गतेको मन्त्री स्तरीय निर्णयअनुसार गरिएको हो ।

विद्यमान वाणिज्य नीतिमा व्यापार सुधार, निजी क्षेत्रको सक्रियता, नीति निर्माणमा समन्वय, र सरकारी तथा निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउन बोर्ड अफ ट्रेडको भूमिकालाई महत्वपूर्ण आधारको रूपमा लिइएको छ । यसै सन्दर्भमा तीनजना अनुभवी निजी क्षेत्रका प्रतिनिधिहरूको मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

बोर्ड अफ ट्रेड नेपालको व्यापार नीतिको कार्यान्वयन, नीति सिफारिस, समन्वय र सहजीकरणका लागि प्रमुख संस्थागत संयन्त्र हो । उक्त बोर्डले नीति निर्माणमा सरकारलाई सघाउने, निजी क्षेत्रका चुनौतीहरू पहिचान गर्ने, समाधान सुझाउने र अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी मुद्दामा मार्गदर्शन दिने जिम्मेवारी लिन्छ ।

नियुक्त भएका सदस्यहरूबाट मन्त्रालयले व्यापार क्षेत्रका विविध मुद्दामा गहकिला सुझाव र सशक्त सहभागिताको अपेक्षा राखेको छ । मन्त्री दामोदर भण्डारीको नेतृत्वमा मन्त्रालयले नीति निर्मातासँग सिधा सरोकारवालाहरूको सहभागिता विस्तार गर्दै नीतिगत निर्णय प्रक्रियालाई समावेशी, उत्तरदायी र परिणाममुखी बनाउन अग्रसरता देखाउँदै आएको छ ।

यस नियुक्तिसँगै जोशी, राणा र श्रेष्ठले नेपालकै व्यापार नीति तथा रणनीतिलाई सशक्त रूपमा अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने काममा कटिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेकाछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *