`

युरोप भ्रमण सकेर फर्कियो प्याब्सन टोली, शिक्षामा अन्तर्राष्ट्रिय अभ्यासबाट लाभ हुने अपेक्षा

Nepal One HD १६ साउन २०८२ ८:३८
शिक्षा

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिको नेतृत्वमा डेनमार्क, स्विडेन र फिनल्यान्डको शैक्षिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएको छ ।भ्रमण टोलीमा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रमुख सल्लाहकार डीके ढुंगाना, महासचिव आरबी कटवालसहित विभिन्न विद्यालयका प्रिन्सिपल तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

ग्लोबल हेल्प फाउन्डेसनको संयोजनमा सम्पन्न उक्त भ्रमणको सुरुवात डेनमार्कको राजधानी कोपेनहेगनमा गरिएको ‘शैक्षिक भ्रमण तथा नेतृत्व विकास सम्बन्धी सेमिनार’बाट भएको थियो । सो सेमिनारको उद्घाटन डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले गरेकी थिइन्। कार्यक्रममा बोल्दै उनले युरोपेली मुलुकहरूले शिक्षामा अपनाएका प्रगतिशील अभ्यासहरू नेपालका विद्यालय र विद्यार्थीहरूका लागि पनि उपयोगी हुने धारणा राखेकी थिइन्। प्याब्सनले यस्ता कार्यक्रम आयोजना गर्नु निकै सराहनीय रहेको उनले उल्लेख गरिन् ।

सेमिनारमा सहभागी प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीले नेपालका विद्यालय सञ्चालक, प्रिन्सिपल तथा शिक्षकहरूलाई अन्तर्राष्ट्रिय अभ्यासबारे बुझ्न र नयाँ सोच विकास गर्न मद्दत पुग्ने उद्देश्यले भ्रमण आयोजना गरिएको जानकारी दिए। उनका अनुसार नेपाल पनि शिक्षा क्षेत्रको सुधारतर्फ अघि बढ्न सक्ने स्पष्ट संकेत यस्ता कार्यक्रमले दिनेछ ।

प्याब्सनका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार डीके ढुंगानाले यसअघि नै प्याब्सनले दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेर विश्वव्यापी अभ्याससँग नेपालको शिक्षा प्रणालीको जोड बढाउने प्रयास गरेको बताए । युरोप भ्रमणले व्यवहारिक अनुभव हासिल गर्न थप सहयोग पु¥याउने विश्वास उनले व्यक्त गरे । त्यहाँको विद्यालय शिक्षा प्रणाली, शैक्षिक नीति, अध्यापन प्रविधि र विद्यार्थी केन्द्रित पठनपाठन अभ्यासलाई नेपाली सन्दर्भमा उपयोग गर्न सकिने उनले बताए ।

टोलीले फिनल्यान्डमा पनि विशेष सेमिनारमा भाग लिएको थियो। सो क्रममा त्यहाँका विद्यालयहरूमा अवलोकन भ्रमण गरिएको थियो भने शिक्षण कार्यशैली, मूल्यांकन प्रणाली, र बालमैत्री वातावरण निर्माणका विषयमा अन्तरक्रिया गरिएको थियो। प्याब्सनले यस्ता अभ्यासहरू नेपाली कक्षा कोठामा पनि प्रयोग गर्न सकिने सम्भावना रहेको जनाएको छ ।

साउन ७ गतेदेखि सुरू भएको १० दिनको भ्रमण सफलतापूर्वक सम्पन्न भएको र भ्रमणका क्रममा संकलित अनुभव तथा सन्देशहरू एक कार्यक्रममार्फत चाँडै सार्वजनिक गरिने अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *