रुपन्देही-३ मा रास्वपाबाट उम्मेदवारीका लागि ९ जनाको आवेदन स्वीकार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेवार हुन इच्छुकहरुको सूची सार्वजनिक गरेको छ ।
रास्वपाले ७ साउन २१ गतेसम्म आवदेन माग गरेको थियो । यस अवधिभित्र अनलाइनमा आवेदन दिएका ९ जनाको सूची सार्वजनिक गरिएको छ ।
रास्वपाका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपीन आचार्यले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीको निर्वाचन आयोगबाट प्राप्त नामावली सार्वजनिक गरेका हुन् ।
१७ कात्तिकमा हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन् । उम्मेदवार हुन इच्छुकका लागि रास्वपाले २५ हजार शुल्क तोकेको थियो ।
स्रोतका अनुसार उम्मेदवारीका लागि जम्मा १० जनाको आवेदन परेको थियो । उनीहरुमध्ये ९ जनाको आवेदन स्वीकार गरिएको हो । एक जनाले दिएको उम्मेदवारी रित नपुगेकाले स्वीकार भएन ।
रास्वपाले प्राप्त नामहरुबाट उम्मेदवारको नाम छनोट गर्नेछ । भदौ १५ मा उम्मेदवारको सूची सार्वजनिक गर्ने रास्वपाले कार्यतालिका बनाएको छ ।