महिला उद्यमशीलतालाई आर्थिक समृद्धिको प्रमुख साधनका रूपमा हेर्न मन्त्री भण्डारीको आह्वान


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वको अवसरमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै नेपालीलाई आग्रह गरेका छन्। विशेषगरी तीजजस्ता सांस्कृतिक पर्वहरूमा नेपाली पहिरन, सामग्री र घरेलु उत्पादनको उपयोगले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्ने उनको भनाइ छ ।
तीजको पूर्व सन्ध्यामा आयोजीत २२औं श्रृजनशील उद्यमी मेला–२०८२ को उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाली महिलाहरूको उद्यमशीलता, सिर्जनशीलता र श्रम देशको आर्थिक परिवर्तनको मेरुदण्ड बन्ने उल्लेख गरे । उनले भने, “अब हङकङको साडी होइन, आफ्नै देशमा उत्पादन भएको पहिरन प्रयोग गर्नुस् । यसले तपाईंको सौन्दर्य मात्र बढाउँदैन, देशको अर्थतन्त्र पनि मजबुत हुन्छ ।” उनले व्युटी पार्लरले मात्रै नभई सिर्जनशील उद्यमहरूले मान्छेलाई सुन्दर देखाउने उल्लेख गरे ।
विदेशी वस्तुको अन्धाधुन्द प्रयोगले स्वदेशी उद्योगमा परेको असरप्रति चिन्ता व्यक्त गर्दै उनले गार्मेन्ट लगायतका विभिन्न उद्योगहरुमा विदेशी डिजाईन र श्रमिक प्रयोग हुनु आत्मनिर्भरताको विरोधाभास भएको उनले टिप्पणी छ । महिला उद्यमशीलतालाई आर्थिक समृद्धिको प्रमुख साधनका रूपमा हेर्नुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले सरकारबाट महिलामैत्री कार्यक्रमहरू-जस्तै सहुलियतपूर्ण कर्जा, डिजिटल साक्षरता अभियान र ‘मेड इन नेपाल’ अभियान प्राथमिकतामा रहेको जानकारी दिए ।
उनले महिला सिर्जनशील केन्द्रद्वारा सञ्चालन हुँदै आएका व्यावसायिक तालिम, सीप विकास कार्यक्रम र व्यावसायिक सहायताको खुलेर प्रशंसा गरे । निजी क्षेत्र, सामाजिक संस्था र सरकारी निकायबीचको सहकार्यले उद्यमशील वातावरण सिर्जना गर्न सकिने उनको भनाई छ ।
मन्त्री भण्डारीले मेलाजस्ता कार्यक्रमहरूबाट रोजगारी सिर्जना, आत्मनिर्भरता अभिवृद्धि र आयात प्रतिस्थापनमा सहयोग पुग्ने बताए। यस्ता अवसरहरूले महिला उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रवद्र्धन, अनुभव साटासाट र बजार विस्तारको माध्यम बनाउने उनको विश्वास छ ।
मेलामा हस्तकला, ढाका कपडा, खाद्य पदार्थ, घरेलु सामग्री, सौन्दर्य प्रसोधनलगायतका विविध उत्पादनको प्रदर्शनी गरिएको छ । महिला उद्यमीहरूबीच नेटवर्किङ, नवप्रवर्तन र व्यापारिक सहकार्यको राम्रो अवसरका रूपमा मेलालाई लिइएको छ ।
स्वदेशी उत्पादनमा मौलिकता, गुणस्तर र ब्रान्डिङको खाँचो औंल्याउँदै मन्त्री भण्डारीले नेपाली उत्पादनप्रति उपभोक्ता विश्वास बढाउनका लागि सरकार सधैं सहयोगी भूमिका खेल्ने प्रतिबद्धता जनाए । साथै, महिला उद्यमीहरूको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु–याउन आवश्यक रणनीति बनाइने समेत उनले स्पष्ट पारे।