युक्रेन ‘आफ्नो भाग्य चयन गर्न’ सक्षम हुनुपर्छ : इयु


युक्रेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्ने तीन दिनअघि युरोपेली सङ्घ (इयु) का नेताहरूले मङ्गलबार ‘युक्रेनको आफ्नै भाग्य छनोट गर्ने अन्तर्निहित अधिकार’ मा जोड दिएका छन् ।
“हामी, इयुका नेताहरू, युक्रेनविरुद्ध रुसको आक्रमणको अन्त्य गर्न र युक्रेनका लागि न्यायपूर्ण र स्थायी शान्ति र सुरक्षा प्राप्त गर्न राष्ट्रपति ट्रम्पको प्रयासलाई स्वागत गर्दछौँ”, एक विज्ञप्तिमा भनिएको छ, “स्थिरता र सुरक्षा ल्याउने न्यायपूर्ण र स्थायी शान्तिले स्वतन्त्रता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता र अन्तर्राष्ट्रिय सीमाहरू बलद्वारा परिवर्तन गर्न नहुने सिद्धान्तहरूसहित अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्नुपर्छ ।”
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र युरोपेली नेताहरूले बुधबार ट्रम्पसँग भेट गर्ने कार्यक्रम छ ।
शुक्रबार पुटिनसँगको अलास्का शिखर सम्मेलनका लागि आफ्ना अपेक्षाहरूबारे ट्रम्प अस्पष्ट रहेका छन् । युक्रेनमा युद्धको अन्त्यका लागि रुसी नेताको विचारहरू अनुमान गर्न यसलाई ‘परीक्षण गर्ने’ बैठकका रूपमा वर्णन गरे ।
जेलेन्स्कीले बलपूर्वक कब्जा गरेको क्षेत्रलाई अस्वीकार गरेका छन् । फेब्रुअरीमा ह्वाइट हाउसको बैठकमा जेलेन्स्कीलाई सार्वजनिक रूपमा तिरस्कार गर्ने ट्रम्पले जेलेन्स्कीको दृष्टिकोणबाट आफू ‘थोरै चिन्तित’ भएको र भूमि साटासाट गर्नुपर्ने कुरामा जोड दिएका थिए।
“केही अदला–बदली हुनेछ, भूमिमा केही परिवर्तन हुनेछ” उनले भने ।
तर ट्रम्पले पुटिनलाई ‘तपाईंले यो युद्ध अन्त्य गर्नुपर्नेछ’ भनेर पनि भन्ने बताए।