कैलाली र कञ्चनपुरमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत २० घर निर्माण


अत्तरिया। सहरी विकास तथा भवन कार्यालय कैलालीले ‘जनता आवास कार्यक्रम’ अन्तर्गत २० घर निर्माण सम्पन्न गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१-८२ मा कैलाली र कञ्चनपुरमा उक्त घर निर्माण सम्पन्न गरेको हो ।
प्रदेश सरकारको बजेटमा विपन्न परिवारका कैलालीमा १० र कञ्चनपुरमा १० दुईकोठे घर निर्माण गरिएको कार्यालयका सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिए । उनका अनुसार कैलालीको जानकी गाउँपालिकाको वडा नं। २, ५, ८ र ९ मा १० घर, कञ्चनपुरको भीमदत्त नगरपालिका–३, ७, १० र ११ मा छ र दोधारा–चाँदनी नगरपालिका–३, ६ तथा ७ मा चार घर निर्माण गरिएको हो ।
उनले भने, ‘सबै घर गत आवमा नै निर्माण सम्पन्न गरि लाभग्राहीलाई हस्तान्तरण गरिसकेका छौँ, लाभग्राहीहरू घरमा बसिसक्नुभएको छ ।’ सुदूरपश्चिम प्रदेश सरकारले २० घर निर्माणका लागि गत आर्थिक वर्ष २०८१-८२ मा रु ७० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।
कैलालीमा प्रतिघर निर्माण लागत चार लाख ८३ हजार ९९१ र कञ्चनपुरमा प्रतिघर निर्माण लागत रु चार लाख ९६ हजार २३३ रहेको उनले जानकारी दिए । कार्यालयले प्रतिघर निर्माणका लागि रु तीन लाख ५० हजार उपलब्ध गराएको र बाँकी रकम बराबरको लाभग्राहीले श्रमदान गरेको उनले जानकारी दिए ।