`

सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

Nepal One HD ३१ साउन २०८२ १०:१२
प्रमुख खबर

मलङ्गवा (सर्लाही), ३१ साउन : सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

यादवलाई शुक्रबार साँझ आफ्नै घरको आँगनमा बसेर छरछिमेकीसँग गफ गरेर बसिरहेका बेला अज्ञात व्यक्ति आएर गोली प्रहार गरेका थिए ।

मोटरसाइकल चढेर आएका मानिसले पेस्तोल निकालेर यादवको टाउकोमा गोली प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् । गोली प्रहारबाट गम्भीर घाइते यादवको महोत्तरीको सोनामा गाउँपालिकास्थित पर्सा गाउँमा रहेको एक स्वास्थ्य संस्थामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो ।

छरछिमेकीसहित समूहमा बसेर कुराकानी गरिरहेका बेला दुई जना अपरिचित मानिस आएर रामपुकार भनेको को भनी सोधेर नै गोली प्रकार गरेका एक स्थानीयले बताए ।

गोली प्रहार गर्ने व्यक्ति भाग्दै गर्दा हरिपुर्वा नगरपालिकाअन्तर्गत पर्ने बसन्तपुरमा दुर्घटनामा परेको थियो । जसमा एक जना फरार भएको छ भने अर्का घाईतेलाई प्रहरी निगरानीमा जनकपुरमा उपचार भइरहेको प्रहरी सर्लाहीका प्रहरी प्रवक्ता राईले जानकारी दिनुभयो । घटनामा संलग्नहरूको पहिचान भइसकेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो ।

मृतक यादव यसअघि सर्लाही सदरमुकाम मलङ्गवाको निजी विद्यालयमा शिक्षण पेसामा आबद्ध भए पनि अहिले खेती किसानी गर्नुहुन्थ्यो । उहाँले गाउँघरमा केही रकम ऋण लगानीसमेत गरेको स्थानीयहरूले जनाएको छ । ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *