तरुण दलको पाँचौँ महाधिवेशन मङ्सिरमा हुने


काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको पाँचौँ महाधिवेशन आगामी मङ्सिरमा हुने भएको छ ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले एक विज्ञप्ति जारी गरी मङ्सिर २६ देखि २८ गतेसम्म पाँचौँ राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिएका छन् । लामो समयदेखि तरूण दलको महाधिवेशन हुन नसकेकाले कांग्रेसले निर्देशन समिति बनाएको थियो ।
तरुण दलले आगामी भदौ भित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने, भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय एवं जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गर्नेछ ।
यस्तै, कात्तिक २० गतेभित्र प्रदेशसभा निर्वाचन क्षेत्र र सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्ने, कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, मङ्सिर १० गतेभित्र सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने र मङ्सिर २६, २७ र २८ गते राष्ट्रिय महाधिवेशन सम्पन्न गरिने अध्यक्ष गुरुङले बताएका छन् ।