`

उपसभामुखलाई हटाउने कांग्रेस-एमालेको प्रयास असफल पार्ने विपक्षी दलहरुको निर्णय

Nepal One HD ३ भदौ २०८२ १८:३५
प्रमुख खबर

काठमाडौं।  संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने षडयन्त्रको सशक्त प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको विपक्षी दलको बैठकले सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने षडयन्त्र गरेको भन्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनले उपसभामुखलाई हटाउन नहुनेमा सबै विपक्ष दलहरुबीच एकमत रहेको बताए । संवैधानिक परिषद्को अवस्थालाई लिएर पटक पटक उपसभामुखलाई हटाउने प्रयास भएको भन्दै उनले यस्तो कदम राष्ट्रका लागि ठिक नभएको जिकिर गरे  ।

त्यस्तै बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने सत्तारुढ दलको प्रयासका बारेमा छलफल भएको जानकारी दिए । उपसभामुखलाई हटाउने र संसद्लाई कमजोर पार्ने सत्तारुढ दलको षड्यन्त्रको विपक्षी दलहरू एक भएर प्रतिरोध गर्ने निर्णय गरिएको बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले संवैधानिक परिषद्मा बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन खोजेको भन्दै यस्ता कदमलाई कुनै हालतमा सम्भव हुन नदिने निर्णय गरिएको बताए ।

बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, आजपा सहभागी थिए । उनीहरुले सत्ता गठबन्धनको उपसभामुख हटाउने प्रयासविरुद्ध संसद्‍मा सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *