कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्था जानकारी गराउन माग


काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाएका नेपालीको शव स्वदेश फिर्ताको प्रक्रिया र उपचाररत कामदारको स्वास्थ्य अवस्थाबारे सदनमार्फत जानकारी गराउन माग गरेका छन्। बैठकको आकस्मिक समयमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गरेका हुन्।
सांसद रमा कोइराला पौड्यालले कुवेतमा विषादीयुक्त मदिरा सेवनबाट १२ जनाको निधन भएको र केही व्यक्ति सघन उपचारकक्षमा उपचाररत रहेका बताउँदै यो घटनाबारे सरकारले सदनलाई विस्तृत जानकारी गराउनुपर्ने माग गरिन्।
यो घटनापछि त्यहाँको सरकारले कामदारमाथि धरपकड सुरु गरेको समाचारहरू पनि बाहिरिएकाले नेपालीको अवस्था के छ भनेर सरकारले सोधीखोजी गर्नुपर्ने उनको भनाइ छ। त्यस्तै, विदेश जाने श्रमिकलाई दिइने अभिमुखीकरण तालिम पर्याप्त नरहेको सांसद पौड्यालले बताइन्।
सांसद जनार्दन शर्माले कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाहरूको शव नेपाल ल्याउनका लागि भइरहेका प्रक्रिया र उपचाररतहरूको स्वास्थ्य अवस्थाबारे संसद्मा जानकारीका लागि आग्रह गरे। त्यस्तै, बाढीपहिरोका कारण सडक सञ्जाल बिग्रिएको र दुर्घटनाको जोखिम बढेको विषयमा पनि उनले संसद्को ध्यानाकर्षण गरे।
अस्थायी आवासगृहमा बसिरहेका जाजरकोटका भूकम्पपीडितलाई वर्षायामले थप प्रभावित भएको बताउँदै सांसद शर्माले पुनर्निर्माणलाई गति दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
आजको बैठकमा प्रतिपक्ष दलका सांसदहरूले उपसभामुखलाई हटाउनका लागि सत्तारुढ दलले षड्यन्त्र गरिरहेका आरोपसमेत लगाएका छन्। सांसद सन्तोष परियारले उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्नेगरी सत्तापक्ष दलहरूले गृहकार्य गर्नु दुःखद् रहेको बताए।
सत्तारुढ दलले ह्वीप जारी गरी हस्ताक्षर संकलन गरेर सांसदहरूको विवेकलाई बन्दी बनाउन नहुने उनको धारणा थियो। कार्यपालिकाले व्यवस्थापिकामाथि हस्तक्षेप गरेको भन्दै यस्ता कार्यले लोकतन्त्र नै खतरामा पर्ने परियारले बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रोशन कार्कीले उपसभामुखलाई महाअभियोग लगाउनका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले खाली कागजमा हस्ताक्षर गराएको आरोप लगाइन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन नगर्ने वर्तमान सरकारले उपसभामुखसँग जोडिएको पुरानो विषयलाई बाहिर ल्याएर साना दललाई हतोत्साही गरिरहेको उनको भनाइ छ।
संवैधानिक निकायमा आफू अनुकूलका व्यक्ति नियुक्ति गर्न संवैधानिक परिषद्मा बहुमत पुर्याउन सरकारले उपसभामुख रानालाई पदमुक्त गर्न षड्यन्त्र गरिरहेको समेत सांसद कार्कीले आरोप लगाइन्।
आकस्मिक समयमा सांसद महेशकुमार बर्तौलाले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका-६ मा चट्याङ लागेर एक जनाको मृत्यु र आठ जना घाइते भएका विषय सदनमा उठाए। चट्याङलगायत विपद्जन्य घटनामा मृत्यु भएका परिवारलाई सरकारबाट उपलब्ध गराइने राहत रकम बढाउनुपर्ने माग उनले राखे।
सांसद रुक्मिणी राना बराइलीले पछिल्लो समय महिला हिंसाका घटना बढिरहेको भन्दै महिला हिंसा नियन्त्रण गर्न प्रभावकारी कानुन कार्यान्वयनमा गर्नुपर्नेमा जोड दिइन्। उनले महिला हिंसाका घटनाबारे सदनको ध्यानाकर्षण गराए।
सांसद महेन्द्रराय यादवले सर्लाही जिल्ला हरिपुर्वा नगरपालिकामा असुरक्षा बढेको बताउँदै त्यहाँ इलाका प्रहरी कार्यालय स्थापना गर्ने र शान्ति सुरक्षा कायम गर्न सरकारसँग आग्रह गरे। त्यस्तै, तराईका क्षेत्रमा अहिले पनि खानेपानी र सिँचाइको समस्या कायम रहेको उनले उल्लेख गरे।
सांसद डा अमरेशकुमार सिंहले हरिपुर्वामा पूर्वशिक्षक रामपुकार रायको गोली हानेर हत्या भएको विषय संसद्मा उठाउँदै नागरिकको जीउधनको सुरक्षाको प्रत्याभूति गर्न माग गरे। सत्तारुढ दुई ठूला दलले साना दललाई तर्साइरहेका उनले आरोप लगाए। न्याय पालिकामा सरकारको हस्तक्षेप बढेको उनको आरोप छ।
सांसद अब्दुल खानले बर्दिया जिल्लामा बाघसहित जंगली जनावरको आक्रमणबाट नागरिकले ज्यान गुमाउनेक्रम नरोकिएको बताए। बाघको आक्रमण रोक्नका लागि राज्यका निकायबाट गम्भीर पहल गरिनुपर्ने उनले माग राखे।
सांसद वासुदेव घिमिरेले हालसम्म दुई सय ५३ पालिकाले मात्रै भूउपयोग नीति बनाएका जनाउँदै तीबाहेकका अन्य पालिकाले भूउपयोग नीति लागू नगर्दा जमिनको कित्ताकाट खुल्न नसकेको बताए। भूउपयोग नीति कार्यान्वयनका लागि स्थानीय तहलाई संघीय र प्रदेश सरकारले सहजीकरण गरिनुपर्ने उनले धारणा राखे।