`

लिपुलेकका विषयमा भारत र चीनबीचको सम्झौता स्वीकार्य छैनः सांसदहरु

Nepal One HD ६ भदौ २०८२ १६:३१
राजनीति

काठमाडौँ । प्रतिनिधिसभामा भारत र चीनबीच नेपालको लिपुलेक क्षेत्रलाई व्यापारिक मार्ग बनाउने भनि गरिएको सहमति कुनै पनि हालतमा स्वीकार्य नभएको सांसदहरुले बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा भाग लिने अधिकांश सांसदहरुले नेपालको भूमि फिर्ता ल्याउन सरकारको दरिलो कूटनीतिक पहलका लागि अनुरोध गरेका छन् । प्रतिनिधिसभा सदस्य तारा लामाले नेपालको लिपुलेख भएर भारत र चीनले व्यापार गर्ने विषय नेपाललाई कुनै पनि हालतमा मान्य नभएको बताएका छन्।

उनले भनेका छन्, “लिपुलेक नेपालको अभिछिन्न भूभाग हो । त्यो भूमि फिर्ताका लागि सरकारले दरिलो कूटनीतिक पहल गर्न सभामुखमार्फत सरकारलाई अनुरोध गर्दछु ।”

सांसद दुर्गा राई नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाभिमानलाई आँच पुग्ने गरी भारत र चीनले नेपालको लिपुलेक प्रयोग गर्ने सहमति सम्झौता मान्य नहुने उल्लेख गरेका छन् ।

उनले भनेका छन् “सत्तापक्ष र प्रतिपक्षबीच यस विषयमा एक पटक फेरि राष्ट्रिय सहमति कायम गरौ । भूगोलमा सानो भएपनि नेपाल सार्वभौम छ, लिपुलेकका सम्बन्धमा भारतको दाबी सत्यता र प्रमाणमा आधारित छैन, एकतर्फी कृत्रिम दाबी नेपालाई स्वीकार्य हुँदैन, यस विषयमा कूटनीतिक पहल गर्न ढिलाइ गरिनु हुन्न ।”

सांसद नारायणी शर्माले लिपुलेक, कालापानी र लिम्पीयाधुरा नेपालकै अभिन्न भूभाग भएकाले भारत र चीनले नेपालसँग कुनै छलफल नगरी दुई देशबीच व्यापारिक मार्ग सञ्चालनका लागि भएको सहमतिलाई स्वीकार्य गर्न नसकिने बताईन् । उनले सवै राजनीतिक दलले एउटै सङ्कल्प गरेर प्रधानमन्त्रीको नेतृत्वमा समस्या समाधानका लागि पहल गर्न आग्रह समेत गरेकी छिन् ।

सांसद नैनकला थापाले सार्वभौम र स्वाधिन नेपालीलाई लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिले चिन्तित बनाएको बताईन्। उनले चीन र भारतले नेपालाई हेप्ने प्रवृत्ति देखाएकाले त्यो सोच तत्काल सच्याउन आवश्यक रहेको धारणा राखेकी थिईन् ।

सांसद प्रभु हजाराले नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूभाग भएपनि नेपाल र भारतले नेपालसँग कुनै परामर्श नगरी त्यस क्षेत्रमा व्यापारिक नाका बनाउने निर्णय नेपालीका लागि अमान्य रहेको प्रतिक्रिया दिएका छन् ।

सांसद देवेन्द्र पौडेलले हरितालिका विशेष अवसरमा सम्पूर्ण नेपालीजनप्रति शुभकामना व्यक्त गर्दै ढोरपाटन शिकार आरक्ष जाने सडक अस्तव्यस्त रहेकाले मर्मत र सुधारका लागि ध्यानाकर्षण गराएका छन् ।

सांसद ठाकुर गैरेले तीजका नाममा अहिले पनि कतिपय सामन्ति अवशेषका प्रवृत्तिका कारण भड्किलो, खँर्चिलो, रवाफिलो बन्दै गएकाले सुधारको खाँचो औल्याएका हुन् । उनले सामाजिक एकतालाई बलियो बनाउँदै राष्ट्रिय हितको पक्षमा सामाजिक न्याय, लोकतन्त्र, जनजिविका र सुशासनको पक्षमा तीजले एकताबद्ध तुल्याउने विश्वास व्यक्त गरेका छन्।

सांसद नारायणप्रकाश साउदले विद्यालय शिक्षा विधेयक पारित गरे पनि सवैलाई स्वीकार्य गरी अघि बढाउन पर्ने सुझाव दिएका थिए ।

सांसद नारायणप्रसाद आचार्य पाल्पाको रामपुर खण्डको सडक, कृषि, नगदेवाली र शिक्षा क्षेत्रमा ठूलो महत्व राख्ने भएकाले समयमै मर्मत र सुधारका लागि अनुरोध गरेका छन्।

सांसद पुष्पबहादुर शाहले राष्ट्रिय परिचय पत्र बनाउन जाने क्रममा यसै साता पनि ज्येष्ठ नागरिकको लडेर मृत्यु भएकाले घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्थाका लागि अनुरोध गरेका छन्।

सांसद प्रकाश ज्वालाले जाजरकोट केन्द्रवीन्दु भएर गएको भूकम्पमा सल्यान जिल्लामा पनि पूर्वाधार क्षेत्रमा ठूलो नोक्सानी भएकाले सरकारले त्यसमा समेट्न, छिटो पुनः निर्माणका कार्यक्रम सञ्चालन गर्न र जिल्लामा दमकलको व्यवस्था गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद प्रतिक्षा तिवारीले तीजका उपलक्ष्यमा सबैमा शुभकामना व्यक्त गर्दै नजिकँदो चाडँबाडका अवसरमा अत्यावश्यक वस्तुमा हुनसक्ने मूल्यबृद्धि, कालोबजारी र कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमनको माग गरेका छन् ।

सांसद प्रेम महर्जनले भारत र चीनसँग नेपालका घनिष्ठ सम्बन्ध रहेकाले नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन दरिलो कूटनीतिक प्रयासको खाँचो औल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *