`

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

Nepal One HD ८ भदौ २०८२ ९:३७
समाचार

टक्सार(भोजपुर), । अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । दाताहरूको सहयोगबाट आएको रु ९० हजार नगदबाट भोजपुर नगरपालिकाभित्रका ती विद्यार्थीलाई शनिबार पोशाकसहित शैक्षिक सामग्री वितरण गरिएको हो ।

नवोदय संस्था भोजपुरले छनोट गरेका विद्यार्थीलाई कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सृजना राईले छात्रवृत्तिका सामग्री वितरण गरेका छन् । कक्षा १ देखि ९ सम्मका छात्रछात्रालाई छनोट गरी नौ विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्रीसहित पोशाक वितरण गरेको संस्थाका सचिव यदु सुवालले जानकारी दिएका छन् । नगरपालिकाभित्रका मावितर्फ विद्योदय मावि, यशोधरा मावि, लक्ष्मी मावि, सिद्धेश्वर माविसहित जनकल्याण आधरभूत विद्यालय, जगदिश्वरी आवि, पञ्चकन्या आवि, जनसेवा आवि र पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले शैक्षिक सामग्री पाएका सचिव सुवालले जानकारी दिए ।

हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका दम्पती ईश्वर श्रेष्ठ र सावित्री जोशीबाट रु ३० हजार, डा सुन्दर मोहन प्रतिष्ठानबाट रु २० हजार, मदनप्रसाद श्रेष्ठ र देवी श्रेष्ठबाट प्राप्त रु २० हजार र खड्गबहादुर इन्द्रकुमारी श्रेष्ठबाट प्राप्त रु २० हजार स्कुल पोशाकसहित शैक्षिक सामग्री वितरण गरिएको छ ।

कोशी प्रदेशका राज्यमन्त्री राईले अभिभावकविहीन विद्यार्थीलाई गरिएको शैक्षिक सामग्री वितरणले अध्ययनमा मद्दत गरेको बताउँदै त्यस्ता विद्यार्थीको लगत सङ्कलन गर्नुपर्ने बताए । अभिभावकविहीन बालबालिकका लागि पनि प्रदेशस्तरमा विभिन्न संस्था खुलेकाले त्यसमार्फत पालनपोषण र अध्ययनको व्यवस्था गर्न सकिने बताएका छन् ।

अभिभावकविहीन, विपन्न बालबालिकालाई राज्यले नै आवासीय विद्यालयसहित अध्ययनको व्यवस्थापन गर्नुपर्ने भए पनि त्यो नहुँदा बालबालिकालाई दाता खोजेर सहयोग गर्नुपर्ने अवस्था आएको विद्योदय माविका प्रधानाध्यापक खोमराज धमलाले बताएका छन् । आमाबाबुको माया नपाएका बालबालिकालाई विशेष ध्यान दिनु जरुरी रहेको उनले बताएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *