चीन जानुअघि प्रधानमन्त्रीले भोलि प्रतिनिधिसभामा सम्बोधन गर्ने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
शुक्रबार दिउँसो १ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने एमालेका मुख्यसचेतक महेश बर्तौलाले जानकारी दिए ।
शनिबार चीन भ्रमणमा निस्कन लागेका प्रधानमन्त्रीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका हुन् । त्यस्तै प्रमुख सचेतकसँग छलफलका क्रममा संसद्को आगामी १५ दिनको क्यालेन्डर तय भएको सचेतक बर्तौलाले जानकारी दिए ।
जस अनुसार भाद्र १३ गते शुक्रबार बस्ने संसद् बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने उनले बताए । त्यस्तै भाद्र १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको बर्तौलाले जानकारी दिए ।
त्यस्तै उनले निजामती विधेयक राष्ट्रियसभाबाट आएको खण्डमा भाद्र १९ गते पारित गर्ने तयारी भएको उल्लेख गर्नुभयो । भाद्र २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर तय भएको उनको भनाइ छ ।
त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने र त्यसपछिका कार्यक्रमका बारेको कार्य तालिका तयार भएको बताए ।
भाद्र महिनामा १८, १९, २५, २६ र २७ गते प्रतिनिधिसभाको बैठक बस्ने तय भएको छ ।