`

मिथिलाञ्चलमा आज राधाष्टमी उत्सव मनाइँदै

Nepal One HD १५ भदौ २०८२ १२:३५
समाचार

महोत्तरी । मधेसको प्राचीन मिथिलाञ्चल क्षेत्रमा आज राधाष्टमी उत्सव मनाइँदैछ । द्वापरयुगमा भदौ शुक्लपक्ष अष्टमीका दिन भारतको उत्तरप्रदेशमा पर्ने गोकुलमा लक्ष्मी अवतारका रूपमा राधाको जन्म भएको विश्वासमा यो उत्सव मनाउने गरिएको हो ।

गोकुलका ग्वाला वृषभानुकी पुत्रीका रूपमा राधाको जन्म भएको हिन्दू जनविश्वास छ । ठिक १५ दिनअघि भदौ कृष्णपक्षको अष्टमी तिथिका दिन मथुरा कारागारमा जन्म भएर रातारात गोकुल पु¥याइनुभएका श्रीकृष्ण र राधा सँगसँगै खेल्ने बालसखा भएका कृष्णचरित्र र श्रीमद् भागवतमा वर्णन गरिएको लक्ष्मीनारायण लक्ष्मीनारायण मठ मटिहानीका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णले जानकारी दिए ।

राधा श्रीकृष्णकी अत्यन्त प्रिय छिन् । राधा लक्ष्मी अवतार र श्रीकृष्ण भगवान् विष्णुका आठौँ अवतार मानिन्छन् । गोकुलमा राधा र श्रीकृष्णको प्रीति अत्यन्त गाढा रहेको श्रीमद् भागवत महापुराणमा उल्लेख छ । पछि गोकुलबाट श्रीकृष्ण निस्केर द्वारका बस्न गएका थिए ।

प्रेम र समर्पण भावले सधैँ श्रीकृष्ण भज्नुभएकी राधा निःस्वार्थ प्रेमको पूजकका रूपमा हिन्दूबीच पूजित हुनुभएकी डा वैष्णले बताए । उनका अनुसार आज राधाजीको जन्म भएको दिनको सम्झनामा मिथिलाञ्चलका कैयौँ ठाउँमा राधाष्टमी मेला उत्सव आयोजना गरिएका छन् ।

यहाँका राधाकृष्ण मन्दिरमा बिहानैदेखि धार्मिक अनुष्ठान आयोजना गरिएको छ । राधा हिन्दू मान्यतामा आराध्य देवी भएकी हुँदा यहाँ उत्सवका रूपमा राधाष्टमी मनाउने गरिएको लक्ष्मीनारायण मठका उत्तराधिकारी डा वैष्णवले बताएका छन् । आज यहाँ सत्सङ्ग आयोजना गरिएको छ ।

राधाजी जन्मका पौराणिक कथाका आधारमा ती विषय समेटिएको भावका मङ्गलगान आज मिथिलाञ्चल क्षेत्रमा गुञ्जीरहेका उनले उल्लेख गरेका थिए । उनका अनुसार पर्वका अवसरमा आज साँझ विशेष धार्मिक अनुष्ठान आयोजना गरिँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *