खेलाडी रानाको उपचारमा आर्थिक अभाव


तनहुँ । जिल्लाको देवघाटमा वाइसिएलद्वारा आयोजित फुटबल प्रतियोगितामा घाइते भएकी शुक्लागण्डकी नगरपालिका–१० की ममता रानाको उपचारका लागि रकम अभाव भएको छ फुटबल खेल्दा खुट्टा भाँचिएपछि चितवनस्थित देव अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो ।
शल्यक्रिया सम्पन्न भएपनि अस्पताललाई रु एक लाख ४५ हजार तिर्न बाँकी रहेको परिवार स्रोतले जनाएको छ । आर्थिक अवस्था कमजोर रहेकाले अस्पताललाई उधारो चेक दिइएको छ । केही दिनभित्र तिर्ने शर्तमा राना हाल घर फर्किएका छन् ।
परिवारको आयआर्जनको माध्यम नभएपछि उक्त रकम कसरी तिर्ने चिन्ता लागेको रानाले बताए । उनले भने, “अस्पताललाई रकम कसरी तिर्ने भन्ने भन्ने चिन्ता लागेको छ । नियमित जाँचका लागि जानुपर्दा पनि पैसा छैन ।” खेलाडीलाई सम्बन्धित निकायले नहेरिदिँदा समस्या हुने उनको गुनासो छ । रानाले तनहुँको प्रतिनिधित्व गर्दै भलिबल र फुटबल खेलिसकेकी छन्।
दमौलीका खेलाडी गङ्गा गुरुङसहित साथीहरूले रु २० हजार ५०० सङ्कलन गरी रानालाई हस्तान्तरण गरेका छन् । सामाजिक अभियान्ता सुदीप गफ्फारले खेलाडीलाई राष्ट्रका गहना भनिए पनि समस्यामा पर्दा सहयोग नगरिएकामा गुनासो गरे।
उनले भने, “अहिले रानालाई उपचारका लागि सहयोगको आवश्यकता छ । आफ्नो ठाउँलाई चिनाउनेका लागि सपनाहरू मारेर लागिपर्नुभएको ममता रानालाई साथ सहयोग र माया गरिदिनुहुन हामी सबैमा हार्दिक अनुरोध गर्दछौँ ।”