सरकारले भारतमा काम गर्न जाने नेपाली श्रमिकका लागि छुट्टै कोष


काठमाडौं । सरकारले भारतमा काम गर्न जाने नेपाली श्रमिकका लागि छुट्टै कोष स्थापना गर्ने भएको छ । भारतमा काम गर्ने श्रमिकको अधिकार संरक्षणका लागि सरकारले छुट्टै कोष स्थापना गर्ने नीति अख्तियार गरेको हो ।
राष्ट्रिय श्रम आप्रवासन नीति २०८२ मार्फत भारत जाने श्रमिकलाई पनि व्यवस्थित गर्ने नीतिगत व्यवस्था गरिएको हो ।
नीतिमा भारतमा रोजगारीका लागि जाने श्रमिकको विवरण राखिने छ । श्रम आप्रवासनलाई सुरक्षित, व्यवस्थित, मर्यादित र दिगो बनाउने उद्देश्यसाथ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नीति बनाएर मन्त्रीपरिषद्बाट स्वीकृत पनि भइसकेको छ ।
आप्रवासन नीति कार्यान्वयनमा आएसँगै पहिलोपटक भारतमा काम गर्न जाने नेपाली श्रमिक श्रम आप्रवासन प्रणालीमा समेट्न खोजिएको श्रम मन्त्रालयले जनाएको छ । नीति अनुसार रोजगारीका लागि भारत जानेको विवरण स्थानीय सरकारले राख्नुपर्ने व्यवस्था छ ।