आज अन्तरराष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदै


कञ्चनपुर। कञ्चनपुरसहित देशभर आजदेखि सप्ताहव्यापी रूपमा १७औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ।
नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन) को अगुवाइमा विभिन्न संरक्षण साझेदार सङ्घसंस्थाको सहकार्यमा भदौ १६ देखि २२ गतेसम्म (सेप्टेम्बर १ देखि ७ तारिख) यो दिवस सप्ताहव्यापी रूपमा मनाइँदै छ। यो अवसरमा लोपोन्मुख गिद्ध संरक्षणका लागि जनचेतनामूलक गतिविधि सञ्चालन गरिन्छ।
विसिएनका चरा विज्ञ हिरुलाल डगौराका अनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशमा कैलालीको घोडाघोडी सामुदायिक वन समन्वय समिति, धनगढीको वन विज्ञान अध्ययन संस्थान, कञ्चनपुर पंछी संरक्षण सङ्घ बेलौरी र शुक्लाफाँटा नेचरगाइड एशोसिएशनको सहकार्यमा विभिन्न संरक्षण शिक्षासम्बन्धी कार्यक्रम आयोजना गरिँदै छ।
यस्तै, ६ सेप्टेम्बरसम्म स्थानीय स्वयंसेवकको सहयोगमा सुदूरपश्चिम प्रदेशभर गिद्ध गणना कार्य सञ्चालन हुने उनले जानकारी दिए। उनको भनाइअनुसार सुदूरपश्चिममा हाल नौ प्रजातिका गिद्ध पाइन्छन् भने कञ्चनपुरमा आठ प्रजातिका गिद्ध छन्।
गिद्धलाई ‘प्रकृतिको कुचीकार’ भनिन्छ। मरेका र सडेगलेका जनावरको सिनो खाने गिद्धले वातावरण सफा राख्नुका साथै हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेग, एन्थ्राक्स, क्षयरोगजस्ता महामारी फैलिनबाट रोक्न महत्त्वपूर्ण भूमिका खेल्छ। चरा विज्ञ चौधरीका अनुसार गिद्धले आफैँ शिकार नगरी सिनोमा निर्भर रहने भएकाले वातावरण प्रदूषित हुनबाट जोगाउँछ।
तर पछिल्लो समय गिद्ध लोपोन्मुख अवस्थामा छन्। दर्दनिवारक औषधि ‘डाइक्लोफेनेक’ गिद्ध विनाशको प्रमुख कारण भएको वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ। किसानले जनावर बचाउन सिनोमा विषादी प्रयोग गर्ने, ठूला रुख फँडानी, विद्युत् तारमा ठोक्किने र आधुनिक कृषि उपकरणको प्रयोगले पशुपालनमा कमी आउनुले गिद्धको आहारा घटेको छ। साथै, प्राकृतिक प्रकोप, डढेलो, पहिरो, आँधीबेहरीले गिद्धको बासस्थान नष्ट भइरहेको तथ्याङ्कले देखाएको छ।
यसैगरी, एसिक्लोफेनेक, किटोप्रोफेन, निमुस्लाइड, कारप्रोफेन र फ्लुनिक्सिनजस्ता औषधि गिद्धको मृत्युको कारण बनेका छन्। नेपालमा पाइने गिद्धमध्ये डङ्गर गिद्ध, सानो खैरो गिद्ध र सुन गिद्ध आइयुसिएनद्वारा ‘अति सङ्कटापन्न’ श्रेणीमा छन् भने गोब्रे गिद्ध ‘दुर्लभ’ अवस्थामा छ। यस्तै, राज गिद्ध र खैरो गिद्ध हिउँदयाममा पाहुनाका रूपमा नेपाल आउँछन्। हिमाली गिद्ध नेपालको रैथाने भए पनि मुख्य रूपमा जाडो महिनामा तराईमा देखिन्छ।
गिद्ध संरक्षण दिवस पहिलोपटक अफ्रिकामा सन् २००५ देखि ‘राष्ट्रिय सचेतना दिवस’ का रूपमा मनाइँदै आएकोमा सन् २००९ देखि विश्वव्यापी रूपमा ‘अन्तरराष्ट्रिय गिद्ध सचेतना दिवस’ का रूपमा मनाउन थालिएको हो। यो दिवस मनाउनुको प्रमुख उद्देश्य गिद्धको घट्दो सङ्ख्या, संरक्षणका प्रयास, चुनौती र यसको आवश्यकताबारे आमनागरिकमा सचेतना बढाउनु रहेको छ।