रास्वपाबाट रुपन्देही-३ का उम्मेदवार थापाले आज पत्रकारसँग अन्तर्क्रिया गर्दै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट रुपन्देही–३ का उम्मेदवार छनोट भएका डा.लेखजंग थापाले पत्रकारसँग आज भेटघाट गर्ने भएका छन् ।
केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार दिउँसो २ बजे भेटघाट तथा अन्तरक्रिया गर्न लागेका हुन् । आइतबार रास्वपाले थापालाई उम्मेदवार चयन गरेको थियो ।
पारिवारिक पृष्ठभूमि सार्वजनिक भएपछि थापा विवादमा तानिएका छन् । साउन ७ गतेदेखि भदौ १३ गतेसम्म रास्वपाले प्राइमरी निर्वाचन, लिडरशिप एकेडेमी, पोलिटिकल प्रोग्जोमिटी र समावेशी जस्ता उम्मेदवार छनोट प्रक्रिया अवलम्बन गरेको थियो ।
प्रतिस्पर्धामा उत्रिएका ९ जना उम्मेदवारमध्ये ८ जनालाई पछि पार्दै थापाले बाजी मारेका थिए । हिजो रास्वपाले उम्मेदवारको नाम सार्वजनिक गर्नू पहिले पार्टी सभापति रवि लामिछानेलाई भेट्न थापा नख्खु कारागार गएका थिए । त्यसपछि साझँ ५ बजे उम्मेदवारको नाम सार्वजनिक भएको थियो ।
साथै थापा चार महिनाअघिसम्म नागरिक उन्मुक्ति पार्टीमा रहेको खुलेको छ । उनलाई नाउपाले समानुपातिकको बन्दसुचीमा राखेको थियो ।
२०७९ सालमा सम्पन्न चुनावमा लुम्बिनी प्रदेशका लागि खस आर्यतर्फ उनी समानुपातिक सुचीमा रहेका थिए । उनको नाम प्राथमिकता क्रमको पाचौं नम्बरमा थियो । रुपन्देही ३ मा उपचुनाव हुने भएपछि उनी रास्वपातिर आएका हुन् ।
थापाले चार महिना अगाडि पार्टीबाट राजीनामा दिँदै आफूलाई बन्द सुचीबाट हटाउन आग्रह गरे । अध्यक्ष रञ्जिता श्रेष्ठले राजीनामा स्वीकृत गरिन् र नाउपाले निर्वाचन आयोगमा पत्राचार गर्यो । आयोगले गत २१ साउनमा मात्रै थापालाई बन्द सूचीबाट हटाइएको लिखित जानकारी गराएको छ ।
वरिष्ठ न्युरोलोजिष्ट डा. थापा सिद्धार्थनगर–९ निवासी हुन् । नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभावान चिकित्सक हुन् ।
समाज परिवर्तनको हुटहुटी बोकेका र रोगको उपचारमा तल्लीन डा. थापा अब देशको उपचार गर्ने बाटोतर्फ अग्रसर भएका छन् । मुलुकलाई सुशासनसहितको सामाजिक न्याय, विकास र समृद्धिको बाटोमा लैजाने अठोटका साथ उनी राजनीतिमा होमिएको बताउँछन् ।