सोलुखुम्बुको थामेमा बाढी, पाँच घर बगायो ६ घरमा क्षति


काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा बाढी आएको छ । बाढीले पाँच घर बगाएको छ भने ६ घरमा क्षति भएको छ ।
थामे खोलाले धार परिर्वतन गरेर बस्तीमा प्रवेश गर्दा ५ वटा घर पूर्णरूपमा बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सोमबार (भदौ १६) खुम्बु पासाङल्हामु गाउँपालिकाले विज्ञप्ति जारी गर्दै आइतबार रातिदेखिको वर्षाका कारण थामे खोलाको बग्ने बाटो मोडिएर बस्तीमा आएको जनाएको छ ।
बाढीका कारण बिजुलीको पोल र वितरण प्रणाली, सञ्चार सेवा लगायतका संरचना समेत अवरुद्ध भएको जनाएको छ ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा हाल अविरल वर्षा भइरहेको कारण यसबाट हुनसक्ने क्षतिको सम्भावना कायमै रहेकाले थामे क्षेत्र लगायत सम्पूर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाढीका कारण मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।