उच्च सीपयुक्त श्रमिकलाई कोरियाको जाने बाटो खुल्यो


काठमाडौं । उच्च सीप भएका श्रमिकका लागि दक्षिण कोरिया जाने बाटो खुलेको छ । नेपाली श्रमिक ई–७ भिसामा दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधि तेस्रोपटक संशोधन भएसँगै नेपाली युवालाई उच्च सिपमा कोरिया जाने बाटो खुलेको हो ।
दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत ई–९ भिसामा नेपाली युवा जिटुजीबाट जाँदै आएका छन् ।
नेपाल र कोरिया सरकारबिच (जिटुजी मार्फत कोरियामा श्रमिक पठाउने गरी इपिएस शाखा नेपाल स्थापना गरेको १९ वर्षपछि सरकारले कोरियाको रोजगारी निजी क्षेत्रलाई प्रवेश गराउने गरी कानुनी बाटो खुला गरेको हो ।
तेस्रो संशोधनले ई–७ भिसामा वैदेशिक रोजगार व्यवसायी कम्पनीले बिटुबीमार्फत कोरियामा पठाउने व्यवस्था गरेको हो तर, यसको अनुगमन भने श्रम विभागले नै गर्ने छ । रोजगारदाता कम्पनीले ई–७ भिसाको लागत नबेहोरे श्रमिकले नै तिर्नुपर्ने छ ।
ई–७ भिसामा दक्षिण कोरिया जान चाहनेका लागि इपिएसमार्फत कोरिया जाने श्रमिकले तिर्ने बराबरको रकम तिनुपर्ने व्यवस्था गरिएको छ ।