कहिले खुल्छ दशैंको गाडीको अग्रिम टिकट बुकिङ ?


काठमाडौं । नेपाली चाड दशैं नजिकिंएसँगै गाडीहरुको अग्रिम टिकट बुकिङको तयारी थालिएको छ । दशैंका लागि गाडीको अग्रिम टिकट बुकिङ भदौ अन्तिममा खुलाउने तयारी छ । यो पटक दशैं छिटो भएकाले त्यही अनुसार बुकिङ खुला गर्ने गरी सरोकारवाला निकायबीच छलफल थालिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागका निर्देशक नरहरि तिवारीले घटस्थापना सुरु हुनु सात दिनअघि अग्रिम बुकिङ खोल्ने गरी तयारी गरिरहेको जानकारी दिए ।
‘सोमबार विभागमा ट्राफिक प्रहरी, यातायात व्यवसायी लगायत सरोकारवाला निकायहरुको उपस्थितिमा अग्रिम टिकट बुकिङ खुल्ला गर्नेबारे छलफल भएको थियो,’ उनले सुनाए, ‘छलफल अनुसार घटस्थापनाको एक हप्ता अघिबाट खुलाउने तयारी छ ।’ अग्रिम टिकट बुकिङ खोल्ने सम्बन्धमा सरोकारवाला निकायविच फेरि छलफल गरेर मात्र निर्णय गरिने उनको भनाइ छ ।
‘सडकको अवस्था के छ, गाडीको संख्या के कति छ ? ,’ उनले भने, ‘अनलाइन बुकिङलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे प्रारम्भिक छलफल भएको छ ।’ विभागको बढी अनलाइन टिकटमै रहेको उनको भनाइ छ । अनलाइन टिकटमा हुने मनपरीलाई कसरी रोक्ने र यसलाई यात्रुमैत्री कसरी बनाउने भन्नेबारे अर्को चरणमा छलफल गरेर निर्णय गरिने उनको भनाइ थियो । त्यसो भए चाडबाडका बेला गाडी भाडा त वृद्धि हुँदैन नि ? भन्न्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म त्यस्तो कुनै तयारी छैन ।’
सबै निकायले दसैंमा आ–आफूले गर्नुपर्ने जिम्मेवारी पूरा गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले बताए । ‘चाडबाड आएपछि गाडी भाडाका कुरा उठ्ने गरेको छ, यसमा जे निर्णय गर्छ, त्यो विभागले नै गर्छ,’ उनले भने, ‘तर हामी चाडबाडमा यात्रुलाई घरसम्म पुर्याउन तयार छौं, त्यसका लागि सडक सहज हुनु पर्छ ।’ चाडबाडका बेला टिकटमा हुने कालोबजारी नियन्त्रण गर्न सरकारी संयन्त्र सक्रिय हुनुपर्ने उनले बताए ।
‘सर्वपक्षीय छलफल गरेर व्यवहारिक रुपमा एक हप्ता अघि टिकट बुकिङ खुल्ला गर्नु पर्छ, यो पटक पनि त्यही होला,’ उनले भने, ‘यात्रु सहायता कक्ष पनि त्यही अनुसार ठाउँ–ठाउँमा राखेर यात्रुलाई सहजीकरण गर्ने काम गर्नु पर्छ ।’ उनले यात्रुलाई चाडबाडमा ठगिन दिन नहुने र यात्रुहरु पनि आफू सचेत मात्र टिकट काट्नुपर्ने उनको सुझाव छ ।
त्यस्तै, सवारी साधनका लागि रुट परमिट पनि त्यही अनुसार खुल्ला गर्नुपर्ने यातायात व्यवसायीले बताएका छन् । गत वर्ष घटस्थापनाको दुई दिनपछि १९ गतेबाट अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । तर रुट परमिट भने घटस्थापनाबाट पूर्णिमासम्मका लागि खुला गरिएको थियो । रुट परमिट खुला भएपछि उत्यका वा मुलुकका कुनै पनि ठाउँमा गुड्ने सवारी साधनले यात्रुबोकेर जुनसुकै जिल्ला वा ठाउँ पुग्न पाउने छन् । दशैंका बेला करिब २० लाख नागरिक काठमाडौं उपत्यकाबाट बाहिरिने गर्छन् ।
खुल्यो खसी–बोका खरिदको अग्रिम बुकिङ
सरकारले यस पटक पनि दशैँका लागि सर्वसाधारणलाई बजार मूल्यभन्दा सस्तोमा खसी, बोका र च्यांग्रा उपलब्ध गराउने भएको छ । यसअन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी, बोका र च्यांग्रा खरिदको अग्रिम बुकिङ खुला गरेको छ ।
खसी–बोका खरिदका लागि कम्पनीले अनलाईनमार्फत बुकिङ गर्न सक्ने व्यवस्था मिलाएको छ । असोज १४ गतेसम्म खसी–बोका खरिद गर्न सक्नेगरी कम्पनीले शर्तसहित अग्रिम बुकिङ खुला गरेको हो । बुकिङ गर्नका लागि उपभोक्ताले कम्पनीको शर्तअनुसार रकम अग्रिम बुझाउनु पर्नेछ । जुन रकम पछि खरिद गर्न नचाहेमा ग्राहकले फिर्ता पाउने छैनन् । यसर्थ बुकिङ गरिसकेपछि किन्नैपर्ने हुन्छ । अन्यथा पैसा खेर जान्छ । बुकिङ गर्दा कोड नम्बर सुरक्षित राखेर खसी बोका तथा च्यांग्रा संकलन गर्दा नम्बर देखाउनु पर्नेछ ।
यस्तै उपभोक्ताले बुकिङ गर्दा नै तिरेको रकम घटाएर वस्तुको मूल्य तिर्नुपर्नेछ भने वस्तुको मूल्य कम्पनीले निर्धारण गरेअनुसार हुनेछ । सुरुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बेवसाइटमा गएर अनलाइनबाट बुकिङ गर्नुपर्नेछ । बुकिङ गरिसकेका उपभोक्ताले बागमती प्रादेशिक कार्यलय (थापाथली) बाट खसी, बोका तथा च्यांग्रा लिन सक्ने बताइएको छ ।