`

आज एकादशीको दिन पनि दशैंको टीका लगाइँदै

काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज (शुक्रबार) एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् । नजिकका परिवारका सदस्य र मान्यजनहरुबाट दशमीको दिन टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरे पनि टाढा भएका आफन्तजनहरुसम्म पुग्न नपाएकाहरुले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गर्दछन् ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वेदमणि भट्टराई कसैले विजया दशमीको दिनमात्र टीका लगाउने चलन भए पनि कसैले कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन रहेको भन्दै त्यसलाई अन्यथा रुपमा लिन नहुने बताउँछन् ।

उनले भने, ‘नेपाली समाजको परम्परा आफ्नै विशिष्ठता र विशेषतायुक्त छ । ठाउँअनुसार आफ्नै खालका परम्पराहरु छन् । पूर्वी र मध्य नेपालमा पूर्णिमाका दिनसम्म टीका लगाइदिने चलन छ । पश्चिम नेपालका कैयौं ठाउँहरुमा दुर्गा विसर्जन गरेको एक दिन मात्रै टीका ग्रहण गरौं भन्ने चलन बस्यो । आ–आफ्नै परिवेश अनुसार चलेका चलनलाई अन्यथा लिने कुरा भएन ।’ यस्तै आज आश्विन शुक्ल एकादशीलाई पापाङ्कुशा एकादशीका रूपमा मनाइँदैछ । आजको एकादशीका दिन व्रत बसे विगतमा जानी–नजानी गरेका पापमा अंकुश लाग्ने धार्मिक विश्वास छ ।

 

राष्ट्रपतिले नागरिकलाई दशैंको टीका नलगाउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् । विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

दशैंको टीका कता फर्केर लगाउने ?

काठमाडौं । आज (असोज १६ गते) विजयादशमी, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै छ ।

टीका लगाउन आज बिहान ११ः५३ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार टीका लगाइमाग्ने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्कनु उपयुक्त हुन्छ ।

आजदेखि कोजाग्रत पूर्णिमासम्मै दसैँको टीका मान्यजनबाट ग्रहण गर्न सकिनेछ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा विजयादशमी मनाउने गरिएको हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाले टीका लगाइदिँदा तलको आशीर्वाद दिने चलन छ ।

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् । महिलाका लागि भनेर यस्तो आशीर्वाद दिने चलन पनि छ ।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

अर्थात् जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा यी नाम गरेकी देवी तपाइँलाई धेरै धेरै नमस्कार छ ।

 

दशैंमा ६ लाख बढीले छाडे काठमाडौं

काठमाडौं । दशैंको घटस्थापनादेखि आजसम्मको नवौं दिनको अवधिमा मात्रै ६ लाख ११ हजार ६५७ जनाले काठमाडौँ छाडेका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि आजसम्म सो संख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।

दशैं सुरु भएसँगै काठमाडौँ उपत्यका छाड्ने नागरिकको संख्या तीव्र रुपमा बढ्दै गएको र पछिल्लो २४ घण्टामा मात्र १३ हजार ३२६ यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, ‘अहिले राजधानी छाडेर जानेको संख्या बढेको छ, काठमाडौँ भित्रिने र बाहिरिने नाकामा सामन्य तरिकाले सवारी साधन चलिरहेका छन् ।’ घटस्थापनादेखि आजसम्म काठमाडौँ उपत्यकाबाट बाहिरिएका सवारी साधनको संख्या एक लाख १३ हजार ४१५ पुगेको छ । यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेहरुको मुख्य गन्तव्य भने देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन् ।

काठमाडौँ उपत्यकामा ७७ हजार ५४५ सवारी साधनबाट तीन लाख १९ हजार १५ जना आजसम्म भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगती लगायतका नाकामा यात्रुको भीड देखिएको छ ।

कतै रमाउँछ मन, कतै बिरक्तिन्छ : दशैंलाई जीवित राख्ने ११ कालजयी गीतहरु

काठमाडौं । दशैं आयो र साथमा ल्यायो मिठा सम्झनाहरू, बालापनको झल्को, परदेशीको पर्खाइ र सांगीतिक भावनाको सुनौलो श्रृङ्खला । नेपाली चाडपर्वको माहोललाई अझ जीवन्त बनाउने प्रमुख तत्व भनेकै दशैंका कालजयी गीतहरू हुन् । जसले कहिले आँखा रसाउँछन्, कहिले ओठ मुस्कुराउँछन् ।

हरेक वर्ष जस्तो, यसपालि पनि रेडियो, टिभी र युट्युब भरिन थालेका छन् दशैं विशेष गीतहरूले । तीमध्ये केही गीत यस्ता छन्, जुन पुस्ता बदलिँदै जाँदा पनि सांगीतिक सम्पदाका रूपमा जिउँदै छन् ।

१) ‘दशैं आयो’–मुग्लान फिल्मको कालजयी धुन
‘वर्ष र दिनको रमाइलो चाड, घरघरमा आइपुग्यो…’
मालश्री धुनपछि बज्ने यो गीत दशैंको आगमनको संकेतझैं भइसकेको छ । परदेशी फर्किएको उमङ्ग, टीकाको उत्साह र गाउँको रमाइलो । यो गीतले दशैंको पुरै कथा बोकेको छ ।

२) ‘नमुछे आमा दहीमा टीका’– परदेशीको पीडा बोकेको लोकभाका
नारायण रायमाझीको यो गीत २०५७ सालको हिट हो । कारगिल युद्धको पृष्ठभूमिमा लेखिएको गीतले आँखा रसाउने गरी दशैंको दर्द बोकेको छ। यो गीत कृष्णभक्त राईको स्वरमा समेत छ ।

३) ‘विछोडको पीडा नसकी खप्न दशैंको बेलामा’– पुरानो तर अमर युगल गीत
नारायण गोपाल र दिलमाया खातीको स्वरमा कलकत्तामा रेकर्ड भएको यो गीत दशैंको मन छुने अनुभूति बनिसकेको छ। यो गीतले सांगीतिक इतिहासमै विशेष स्थान ओगटेको छ ।

४) ‘दशैं नै हो कि, यो मेरो दशा’–यथार्थ र व्यङ्ग्यको संगम
योगेश्वर अमात्यको आवाजमा रहेको यो गीतले दशैंको बढ्दो खर्च, महँगी र सामाजिक दबाबलाई सशक्त ढंगले प्रस्तुत गर्छ । संवादसहित बनेको यो गीत विशेष स्वाद दिन्छ ।

५) ‘कहाँ हो समुन्द्रपारि, कर्मले डोर्‍यायो’– शान्ति मिसनको चित्त दुखाइ
चलचित्र ‘म तिमी बिना मरिहाल्छु’ को यो गीतमा विदेशी भूमिमा कार्यरत नेपाली सैनिकको दशैं पीडा पोखिएको छ । घरको सम्झनामा रुन बाध्य मनको कथा ।

६) ‘वर्षमा दिनैमा लै लै…’– परदेशी दाइको पर्खाइमा…
सुगम पोखरेलको आवाजमा रहेको यो गीतले घरमा आमा, बुबा, बहिनीको आशा र परदेशी दाइको सम्झनालाई भावुक रूपमा प्रस्तुत गर्छ ।

७) ‘यसपालि दशैंमा ठूलो दाजु आउने रे’–बालपनको चहक

कुल पोखरेलको स्वरमा रहेको यो गीत दशैंमा घर फर्किने दाजुको पर्खाइमा रहेको भाइ÷बहिनीको मासुम सपना हो । जुन अहिले पनि बालबालिकादेखि बयस्कसम्मले रुचाउँछन् ।

८) ‘यो दशैंमा म घर आइनँ’–सम्झनाको दोहोरी
रेशम थापा, उद्धव कार्की, सीता थापा र गीता कोइरालाको स्वरमा रहेको यो गीतले दशैंमा घर आउन नसक्नेहरूको व्यथा दोहोरीको माधुर्यमा पोखेको छ ।

९) ‘रातो टीका, दशैंको जमरा’– सिनेमाको सांगीतिक झल्को
चलचित्र ‘मनमन्दिर’ को यो गीत, राजेश हमाल र झरना थापाको अभिनयसहित, दशैंमा टेलिभिजनमा झन् धेरै घन्किने गीतमध्ये एक हो ।

१०) ‘थालैभरि रातो अक्षता र पाती’– लाहुरेको चिठीझैं गीत
सुनिल गिरीको स्वर, शब्द र संगीतमा आएको यो गीतले दशैंको गाउँको रमाइलो, लाहुरे फिर्ता भएको खुसी र भाका–शब्दको मिठास समेटेको छ ।

११) ‘प्रदेशबाट फरिया ल्याइदिउँला’– लोकपप शैलीको नयाँ स्वाद
शिव थापा मगरको स्वर र संगीतमा बनेको यो गीत आधुनिक लोकपप शैलीमा चर्चामा आएको छ । परदेशीको आश्वासन, आमाको पर्खाइ र प्रेमको सन्देश समेटिएको छ ।

बोनस गीत : ‘नौ रथाको दियो बाती’
तुलसी घिमिरेको शब्द, सचिन सिंहको संगीत, थुप्तेन भुटिया र दीपा झाको स्वरमा रहेको चलचित्र ‘लहना’ को यो गीत पनि पछिल्ला वर्षमा दशैं गीतका रूपमा मन पराइन्छ ।
निष्कर्ष– यी गीतहरू केवल धुन मात्र होइनन्, सांस्कृतिक स्मृति र भावनात्मक यात्राका दर्पण हुन् । कहिले लयमा रमाउँछन्, कहिले पीडामा भिजाउँछन् । दशैंले परिवार भेला पार्छ, यी गीतहरूले सम्झनालाई जीवन्त बनाउँछन् ।

वनहराका भूमिहीनलाई छोएन दशैंले

कञ्चनपुर । दशैं घरआँगनमै आएको छ । मीठो मसिनो खाने, नयाँ लुगा लगाउने सबैलाई रहर हुन्छ । तर, कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग नजिकैको शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरमा बसोबास गर्दै आएका सुकुम्बासी (भूमिहीन) परिवारका लागि त्यो रहर केबल सपना मात्रै बनेको छ । दुई छाकको खाना जुटाउनै संघर्ष भइरहेको अवस्थामा दसैँले शिविरवासीको पीडा झन् थपिदिएको छ ।

शिविरमा बस्दै आएकी ६५ वर्षीया माथुदेवी दमाईंले विगतका दुःखद् अनुभव सम्झिँदै भनिन्, ‘कमाइ खाने जग्गा छैन, उमेर पनि ढल्किँदै छ, सधैँ मजदुरी पाइँदैन, हप्तामा एक दिन गर्ने मजदुरीले साँझ बिहानको छाक टार्नै कठिन छ ।’ ‘दशैँमा मीठोमसिनो खाने, नयाँ लुगा लगाउने रहर त छ एकसुको पैसो छैन आश मानेर के पो हुन्छ र हाम्रा दिन यसैगरी बित्ने भए’, उनी भन्छिन् ।

वनहरा शिविरमा अहिले बुढापाका, महिला र बालबालिका मात्र छन् । युवा मजदुरीका लागि भारततर्फ गएका छन् । दशँै भए पनि फर्किएका छैनन् । शिविरवासी देउमती देवी बोहराले भनिन्, ‘कमाई नभएकाले तिहारमा फर्किन्छु भन्ने खबर गरेका छन्, यसपाली दशैं खल्लो हुने नै भयो।’

शिविरका बालबालिका र वृद्धवृद्धा बिरामी पर्दा स्वास्थ्य चौकीसम्म लैजाने मान्छेसम्म नपाइने अवस्था छ । ‘नयाँ लुगा किनेको वर्ष दिनभन्दा बढी भयो, मीठो मसिनो खानु त टाढाको कुरा भयो, बिहान साँझको छाक जुट्यो भने ठूलो कुरा हुन्छ’, उनले भनिन् ।

वनहरा नदी किनारमा टालटुल गरेर बनाइएका झुपडीमाथि राखिएका त्रिपाल दातृ निकायले उपलब्ध गराएका हुन् । तर, त्रिपालभित्र गर्मी असह्य हुने भएकाले धेरै परिवार राति पुलमुनि सुत्न बाध्य छन् । रञ्जित रावत भन्छन्, ‘कोही डोरीको खटिया राखेर सुत्छौँ, कोही भुइँमै बोरी ओछ्याएर, लामखुट्टेले रातभर टोकेर निन्द्रै पर्दैन, ओढ्ने–बिछ्याउने छैन, जसोतसो रात काट्छौँ ।’

दुई महिनाअघि बाढीको त्रासले राजमार्ग किनारमा सरेका परिवार फेरि पुरानै ठाउँमा फर्किएका छन् । तर, समस्या उस्तै छ । दलबहादुर बोहराले भने, ‘पुलमुनि सुत्दै आएको वर्षौं भयो, तर हाम्रोबारेमा सोच्ने कोही छैन, झुल, त्रिपाल र टर्चको व्यवस्था गरिदिन वडादेखि नगरपालिकासम्म धायौँ, सुनुवाइ भएन ।’

सुरुमा जनप्रतिनिधिले समस्या समाधान गर्ने आश्वासन दिए पनि अहिले मौन बसेको शिविरवासीको गुनासो छ । ‘अब त माग्न जानै छाडेका छौँ’, उनीहरु भन्छन् ।

वनहरा शिविरमा बसोबास गर्ने २८ परिवारले भूमि समस्या समाधान आयोगमार्फत जग्गा र आवासका लागि निवेदन दिएका छन् । बसोबासको टुङ्गो भने लागेको छैन । झण्डै दुई दशकदेखि भूमिहीन परिवार वनहरामा झुपडीमा बस्दै आएका छन् । हरेक वर्ष जस्तै यसपालीको दशैँले भूमिहीन परिवारको जीवनमा खुसीभन्दा पीडाको घाउ बोकेर आएको छ ।

चर्खे पिङ संरक्षण गर्दै गाउँले

बागलुङ । चर्खे पिङ लोप हुँदै गएपछि बागलुङ नगरपालिका–९ सिगानाका स्थानीयले संरक्षण सुरु गरेका छन् । स्थानीय राज जिसीले गत वर्षदेखि आफ्नै लगानीमा चर्खे पिङ निर्माण गरेका छन् ।

बढ्दो बसाइसराइँका कारण गाउँमा जनशक्ति अभाव हुँदा राख्न छाडिएको पिङ यहाँ १३ वर्षपछि हाल्न थालिएको हो । पहिले पहिले यहाँ एउटै गाउँमा तीनदेखि चार वटा चर्खे पिङ हाल्ने गरिन्थ्यो । जिसिले एउटा चर्खे पिङ निर्माण गर्न व्यक्तिगत ४० हजार रुपैयाँ लगानी गरेको बताए ।

‘पोहोरकै सामाग्रीहरु जडान गरेर यसपाली पनि पिङ हालिएको छ’, उनले भने, ‘पछिल्लो समयदेखि नै छाडेको चर्खे पिङ संरक्षण गर्नु सबैको दायित्व हो ।’ विगत चार वर्षदेखि बागलुङ नगरपालिका–५ साँझखोलाको सुनाखरी सामुदायिक वन र स्थानीय युवाहरुको स्थानीयहरुले पनि चर्खे पिङ हाल्न थालेको स्थानीय जुना न्यूरेले बताइन् । ११ वर्षअघि मालिकाको पञ्चासेमा चर्खे पिङ हालिएको र तीन वर्षयता साँझखोलामा संरक्षणका लागि चर्खे पिङ हालिएको न्यूरेले बताइन् ।

दशैंमा भूँइ छाड्नु पर्छ भन्ने परम्परागत मान्यता छ । दशैं तिहारमा चर्खे पिङ, रोटे पिङ र लिङ्गे पिङ हाल्ने चलन छ । ‘यहाँ लिङ्गे पिङ नै थियो, गत वर्ष सामुदायिक वनको सक्रियतामा परम्परा संरक्षण गर्न चर्खे पिङ हाल्ने निर्णय गरेर लिङ्गे पिङको सट्टा चर्खे पिङ हालियो’, न्यूरेले भनिन्, ‘१० वर्ष पहिला मालिकाको पन्चासेमा दुई वर्ष मात्रै चर्खे पिङ हालिएको थियो, त्यस यता चर्खे पिङ थिएन, गत वर्षबाट साझोखोलामा चर्खे पिङ हाल्न थालिएको हो ।’

न्यूरेका अनुसार चर्खे पिङ महङ्गो हुने भएकाले सुनाखरी सामुदायिक वन उपभोक्ता समितिमार्फत काठ लिएर २० हजार रुपैयाँ खर्चेर पिङ तयार गरिएको हो । बागलुङ नगरपालिका–८ सिगानाको सायकोट गाउँमा दशैं तिहारमा चर्खे पिङ नहालेको १० वर्ष पुग्यो ।

दुई दशकअघि गाउँ–गाउँमा अनिवार्य जसो चर्खे पिङ बनाइने गरे पनि अहिले चर्खे पिङ देखिनै छाडेको बागलुङ बजारका स्थानीय काजी गाउँले श्रेष्ठले बताए । ‘कतिपयले संस्कृतिको संरक्षणका लागि गाउँमा चर्खे पिङ बनाउनु भएको छ, तर अहिले गाउँ नै पिच्छे चर्खे पिङ देख्न पाइँदैन’, उनले भने, ‘अब स्थानीय तहले चर्खेपिङ संरक्षण नगरे अबको पाँच वर्षपछि चर्खेपिङ हैन लिङ्गे पिङ समेत हराउँछ ।’
–खेमराज गौतम / रासस

दशैं नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दशैं नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्वका रूपमा स्थापित भएको बताएका छन् ।

बडादशैं, २०८२ को शुभकामना दिंँदै उनले सत्यको विजय, असत्यको पराजय, मेलमिलाप र पुनर्मिलनको प्रतीकको रुपमा रहेको यस पर्वले सबैमा नयाँ उमंग, उत्साह र सद्भावको भाव जागृत गरोस् भनि कामना पनि गरेका छन् ।

दशैंलाई शक्ति, सत्य र सदाचारको विजयको प्रतीकका रूपमा लिइन्छ । यस पर्वमा दश दिनसम्म दुर्गा भवानीको आराधना गर्ने प्रचलन छ । घटस्थापनादेखि सुरु हुने यो पर्व नवदुर्गा माताको पूजाआजासहित सम्पन्न हुन्छ । विजयादशमीको दिन देवी दुर्गाले दानवीय शक्तिमाथि विजय प्राप्त गरेको तथा रामले रावणमाथि जित हासिल गरेको धार्मिक आस्था रहिआएको छ ।

त्यसैले यो पर्वले असत्यमाथि सत्य, अन्यायमाथि न्याय र असुरी शक्तिमाथि दिव्य शक्तिको विजयको सन्देश दिने उनको भनाइ छ । टाढाटाढा रहेका परिवारजन एकैठाउँमा भेला भई टीका, जमरा र आशीर्वाद आदानप्रदान गर्ने परम्पराले पारिवारिक सम्बन्धलाई अझ सुदृढ बनाउँछ । साथै, दसैंले विभिन्न जातजाति, भाषा र भौगोलिक क्षेत्रका नेपालीहरूलाई साझा संस्कारले एकतामा बाँध्ने कार्य गर्दै आएको छ ।

सभामुख घिमिरेले दशैंको पूर्वसन्ध्यामा नेपाली नवयुवाहरूको विद्रोहका कारण देखिएको अशान्तिलाई शान्तिमा रुपान्तरण गर्न हामी सबैलाई प्रेरणा प्राप्त हुने विश्वास लिएका छन् । विद्रोहका क्रममा जीवन गुमाएका नागरिकहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले नष्ट भएका संरचना र क्षतिग्रस्त भएका निजी लगानीहरूको पुनर्निर्माणमा राज्य र समाज दुवैको साझा भूमिका रहने विश्वास पनि लिएका छन् ।

‘युवापुस्ताले उठाएका प्रश्नहरू सुशासन र पारदर्शितामाथि केन्द्रित छन् । हाम्रो संविधान संशोधनीय दस्तावेज भएकोले ती मागहरूको सम्बोधन विधिको शासन र संविधानकै मार्गबाट सम्भव छ । लोकतान्त्रिक अभ्यास र संसदीय सर्वोच्चताको बाटोबाट मात्र दिगो समाधान खोज्न सकिन्छ । यही बाटोले मुलुकलाई अँध्यारो सुरूङबाट उज्यालोतर्फ लैजानेछ भन्नेमा म दृढ छु’, सन्देशमा भनिएको छ ।

दशैंमा उपत्यका छाड्नेहरुको बढ्यो चाप, अहिलेसम्म कति बाहिरिए ? (तस्वीरहरु)

काठमाडौं । दशैं नजिकिएसँगै काठमाडौं उपत्यका छोड्नेहरुको संख्या बढ्दै गएको छ । स्कूल, कलेजहरूमा बिदा सुरु भए पछि काठमाडौंको गोंगबु बस पार्कमा बिहानैदेखि काठमाडौं छोड्नेहरुको भीड लाग्ने गरको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनाको दिनदेखि हालसम्म करिब एक लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेको जानकारी दिए ।

त्यस्तै यस वर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुल्ला नगरिए पनि एक दिन अगाडीको टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । जसका कारण टिकट लिनेहरुको समेत गोंगबु बस पार्कमा भीड लागेको छ । हाल गोंगबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलंकी लगायत विभिन्न चोकहरुमा उपत्यका छोड्नेहरुको भीड लाग्ने गरेको छ ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

 

काठमाडौं उपत्यका छाड्नेको संख्या बढ्दै, पछिल्लो २४ घण्टामा कति बाहिरिए ?

काठमाडौं । दशैँको घटस्थापना सुरु भएसँगै पछिल्लो २४ घण्टामा ४३ हजार बढी यात्रुले काठमाडौं उपत्यका छोडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता लोकेन्द्रसिंह गुरुले आइतबार बिहान ६ बजेदेखि आज (सोमबार) बिहान ६ बजेसम्म ४३ हजार १३२ जनाले काठमाडौं छोडेको जानकारी दिए । ‘दशैँ सुरु भएसँगै काठमाडौं छोड्नेहरूको संख्या बढेको छ ।

नयाँ बसपार्क, जडीबुटी, कोटेश्वरलगायत क्षेत्रमा सवारी साधन र यात्रुको चाप बढेको छ । दशैँ भएकाले यो क्रम बढ्छ’, उनले भने । दशैँ सुरु भएसँगै कर्मथलो छोडेर घर फर्किने क्रम सुरु भएको हो । काठमाडौंका नाकामा सवारीको चाप बढेको छ । काठमाडौंको नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर, जडीबुटी क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारी साधनको चाप बढेको हो ।

हनुमानढोकाको दशैं घरमा राखियो जमरा (तस्वीरहरु)

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरुको महान् पर्व बडादशैं आजबाट सुरू भएको छ । आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैं घरमा विधिपूपर्वक जौ, मकैको जमरा राख्ने गरिन्छ । आजैदेखि दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ ।

जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । आजकै दिन हनुमानढोका दरवार स्क्वायरको दशैं घरमा पनि विधिवत् रुपमा जमरा राखिएको छ ।
परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैंघरमा घटस्थापनापछि नवरात्रभर दैनिक बलि दिई शक्तिस्वरुपा दुर्गा देवीको विधिपूर्वक पूजा आराधना सुरु हुने र मंगल धुन पनि बजाइने हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारीहरु बताउँछन् ।

बडादशैंको मुख्य दिन देवी दुर्गाको प्रसादको रुपमा दशमीको दिन त्यही जमरा र टीका लगाइन्छ । यस वर्षको दशैंको टीका असोज १६ गते परेको छ । टीकाको शुभसाइत ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

बडादशैंको टीकाको साइत ११ बजेर ५३ मिनेटमा

काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत रहेको छ। टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनु पर्ने जनाइएको छ ।

२०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते घटस्थापना हो । बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ । असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ । असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ ।

कहिले खुल्छ दशैंको गाडीको अग्रिम टिकट बुकिङ ?

काठमाडौं । नेपाली चाड दशैं नजिकिंएसँगै गाडीहरुको अग्रिम टिकट बुकिङको तयारी थालिएको छ । दशैंका लागि गाडीको अग्रिम टिकट बुकिङ भदौ अन्तिममा खुलाउने तयारी छ । यो पटक दशैं छिटो भएकाले त्यही अनुसार बुकिङ खुला गर्ने गरी सरोकारवाला निकायबीच छलफल थालिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागका निर्देशक नरहरि तिवारीले घटस्थापना सुरु हुनु सात दिनअघि अग्रिम बुकिङ खोल्ने गरी तयारी गरिरहेको जानकारी दिए ।

‘सोमबार विभागमा ट्राफिक प्रहरी, यातायात व्यवसायी लगायत सरोकारवाला निकायहरुको उपस्थितिमा अग्रिम टिकट बुकिङ खुल्ला गर्नेबारे छलफल भएको थियो,’ उनले सुनाए, ‘छलफल अनुसार घटस्थापनाको एक हप्ता अघिबाट खुलाउने तयारी छ ।’ अग्रिम टिकट बुकिङ खोल्ने सम्बन्धमा सरोकारवाला निकायविच फेरि छलफल गरेर मात्र निर्णय गरिने उनको भनाइ छ ।

‘सडकको अवस्था के छ, गाडीको संख्या के कति छ ? ,’ उनले भने, ‘अनलाइन बुकिङलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे प्रारम्भिक छलफल भएको छ ।’ विभागको बढी अनलाइन टिकटमै रहेको उनको भनाइ छ । अनलाइन टिकटमा हुने मनपरीलाई कसरी रोक्ने र यसलाई यात्रुमैत्री कसरी बनाउने भन्नेबारे अर्को चरणमा छलफल गरेर निर्णय गरिने उनको भनाइ थियो । त्यसो भए चाडबाडका बेला गाडी भाडा त वृद्धि हुँदैन नि ? भन्न्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म त्यस्तो कुनै तयारी छैन ।’

सबै निकायले दसैंमा आ–आफूले गर्नुपर्ने जिम्मेवारी पूरा गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले बताए । ‘चाडबाड आएपछि गाडी भाडाका कुरा उठ्ने गरेको छ, यसमा जे निर्णय गर्छ, त्यो विभागले नै गर्छ,’ उनले भने, ‘तर हामी चाडबाडमा यात्रुलाई घरसम्म पुर्‍याउन तयार छौं, त्यसका लागि सडक सहज हुनु पर्छ ।’ चाडबाडका बेला टिकटमा हुने कालोबजारी नियन्त्रण गर्न सरकारी संयन्त्र सक्रिय हुनुपर्ने उनले बताए ।

‘सर्वपक्षीय छलफल गरेर व्यवहारिक रुपमा एक हप्ता अघि टिकट बुकिङ खुल्ला गर्नु पर्छ, यो पटक पनि त्यही होला,’ उनले भने, ‘यात्रु सहायता कक्ष पनि त्यही अनुसार ठाउँ–ठाउँमा राखेर यात्रुलाई सहजीकरण गर्ने काम गर्नु पर्छ ।’ उनले यात्रुलाई चाडबाडमा ठगिन दिन नहुने र यात्रुहरु पनि आफू सचेत मात्र टिकट काट्नुपर्ने उनको सुझाव छ ।

त्यस्तै, सवारी साधनका लागि रुट परमिट पनि त्यही अनुसार खुल्ला गर्नुपर्ने यातायात व्यवसायीले बताएका छन् । गत वर्ष घटस्थापनाको दुई दिनपछि १९ गतेबाट अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । तर रुट परमिट भने घटस्थापनाबाट पूर्णिमासम्मका लागि खुला गरिएको थियो । रुट परमिट खुला भएपछि उत्यका वा मुलुकका कुनै पनि ठाउँमा गुड्ने सवारी साधनले यात्रुबोकेर जुनसुकै जिल्ला वा ठाउँ पुग्न पाउने छन् । दशैंका बेला करिब २० लाख नागरिक काठमाडौं उपत्यकाबाट बाहिरिने गर्छन् ।

खुल्यो खसी–बोका खरिदको अग्रिम बुकिङ
सरकारले यस पटक पनि दशैँका लागि सर्वसाधारणलाई बजार मूल्यभन्दा सस्तोमा खसी, बोका र च्यांग्रा उपलब्ध गराउने भएको छ । यसअन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी, बोका र च्यांग्रा खरिदको अग्रिम बुकिङ खुला गरेको छ ।

खसी–बोका खरिदका लागि कम्पनीले अनलाईनमार्फत बुकिङ गर्न सक्ने व्यवस्था मिलाएको छ । असोज १४ गतेसम्म खसी–बोका खरिद गर्न सक्नेगरी कम्पनीले शर्तसहित अग्रिम बुकिङ खुला गरेको हो । बुकिङ गर्नका लागि उपभोक्ताले कम्पनीको शर्तअनुसार रकम अग्रिम बुझाउनु पर्नेछ । जुन रकम पछि खरिद गर्न नचाहेमा ग्राहकले फिर्ता पाउने छैनन् । यसर्थ बुकिङ गरिसकेपछि किन्नैपर्ने हुन्छ । अन्यथा पैसा खेर जान्छ । बुकिङ गर्दा कोड नम्बर सुरक्षित राखेर खसी बोका तथा च्यांग्रा संकलन गर्दा नम्बर देखाउनु पर्नेछ ।

यस्तै उपभोक्ताले बुकिङ गर्दा नै तिरेको रकम घटाएर वस्तुको मूल्य तिर्नुपर्नेछ भने वस्तुको मूल्य कम्पनीले निर्धारण गरेअनुसार हुनेछ । सुरुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बेवसाइटमा गएर अनलाइनबाट बुकिङ गर्नुपर्नेछ । बुकिङ गरिसकेका उपभोक्ताले बागमती प्रादेशिक कार्यलय (थापाथली) बाट खसी, बोका तथा च्यांग्रा लिन सक्ने बताइएको छ ।