चर्खे पिङ संरक्षण गर्दै गाउँले


बागलुङ । चर्खे पिङ लोप हुँदै गएपछि बागलुङ नगरपालिका–९ सिगानाका स्थानीयले संरक्षण सुरु गरेका छन् । स्थानीय राज जिसीले गत वर्षदेखि आफ्नै लगानीमा चर्खे पिङ निर्माण गरेका छन् ।
बढ्दो बसाइसराइँका कारण गाउँमा जनशक्ति अभाव हुँदा राख्न छाडिएको पिङ यहाँ १३ वर्षपछि हाल्न थालिएको हो । पहिले पहिले यहाँ एउटै गाउँमा तीनदेखि चार वटा चर्खे पिङ हाल्ने गरिन्थ्यो । जिसिले एउटा चर्खे पिङ निर्माण गर्न व्यक्तिगत ४० हजार रुपैयाँ लगानी गरेको बताए ।
‘पोहोरकै सामाग्रीहरु जडान गरेर यसपाली पनि पिङ हालिएको छ’, उनले भने, ‘पछिल्लो समयदेखि नै छाडेको चर्खे पिङ संरक्षण गर्नु सबैको दायित्व हो ।’ विगत चार वर्षदेखि बागलुङ नगरपालिका–५ साँझखोलाको सुनाखरी सामुदायिक वन र स्थानीय युवाहरुको स्थानीयहरुले पनि चर्खे पिङ हाल्न थालेको स्थानीय जुना न्यूरेले बताइन् । ११ वर्षअघि मालिकाको पञ्चासेमा चर्खे पिङ हालिएको र तीन वर्षयता साँझखोलामा संरक्षणका लागि चर्खे पिङ हालिएको न्यूरेले बताइन् ।
दशैंमा भूँइ छाड्नु पर्छ भन्ने परम्परागत मान्यता छ । दशैं तिहारमा चर्खे पिङ, रोटे पिङ र लिङ्गे पिङ हाल्ने चलन छ । ‘यहाँ लिङ्गे पिङ नै थियो, गत वर्ष सामुदायिक वनको सक्रियतामा परम्परा संरक्षण गर्न चर्खे पिङ हाल्ने निर्णय गरेर लिङ्गे पिङको सट्टा चर्खे पिङ हालियो’, न्यूरेले भनिन्, ‘१० वर्ष पहिला मालिकाको पन्चासेमा दुई वर्ष मात्रै चर्खे पिङ हालिएको थियो, त्यस यता चर्खे पिङ थिएन, गत वर्षबाट साझोखोलामा चर्खे पिङ हाल्न थालिएको हो ।’
न्यूरेका अनुसार चर्खे पिङ महङ्गो हुने भएकाले सुनाखरी सामुदायिक वन उपभोक्ता समितिमार्फत काठ लिएर २० हजार रुपैयाँ खर्चेर पिङ तयार गरिएको हो । बागलुङ नगरपालिका–८ सिगानाको सायकोट गाउँमा दशैं तिहारमा चर्खे पिङ नहालेको १० वर्ष पुग्यो ।
दुई दशकअघि गाउँ–गाउँमा अनिवार्य जसो चर्खे पिङ बनाइने गरे पनि अहिले चर्खे पिङ देखिनै छाडेको बागलुङ बजारका स्थानीय काजी गाउँले श्रेष्ठले बताए । ‘कतिपयले संस्कृतिको संरक्षणका लागि गाउँमा चर्खे पिङ बनाउनु भएको छ, तर अहिले गाउँ नै पिच्छे चर्खे पिङ देख्न पाइँदैन’, उनले भने, ‘अब स्थानीय तहले चर्खेपिङ संरक्षण नगरे अबको पाँच वर्षपछि चर्खेपिङ हैन लिङ्गे पिङ समेत हराउँछ ।’
–खेमराज गौतम / रासस