स्वदेश फर्किदै प्रधानमन्त्री, बेइजिङबाट उड्यो विमान


काठमाडौं । चीन भ्रमणबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल आज स्वदेश फकिँदै छ । चीनको थियानजिनबाट बेइजिङ पुगेका ओली केहीबेरअघि त्यहाँबाट काठमाडौंका लागि विमान चढेका उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री सवार विमान बेइजिङबाट उडिसकेको छ । स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट ओली बिदाइ भएका छन् ।
राति करिब १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी ओर्लिने छन् । प्रधानमन्त्री ओली यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिनतर्फ प्रस्थान गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरे । उनले शिखर सम्मेलनलाई सम्बोधन गरे । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रूसी महासंघका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारी सहभागी छन् ।