`

चिनियाँ सेनामा शुद्धिकरण : राष्ट्रपति सीले बर्खास्त गरे नौं वरिष्ठ कमाण्डर

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले जनमुक्ति सेना (पिएलए) का दोस्रो वरीयताका जनरल ह वेइदङसहित नौं जना वरिष्ठ कमाण्डरलाई पदमुक्त गरेका छन् ।

चिनियाँ रक्षा मन्त्रालयले एक वक्तव्य जारी गर्दै राष्ट्रपति सीले जनरल वेइङदङसहित पिएलएका सेन्ट्रल मिलिटरी कमिसन (सिएमएसी) का नौं जना जनरलहरूलाई बर्खास्त गरिएको फाइनान्सियल टाइम्सले जनाएको छ । बर्खास्तीमा परेकाहरूमा वेइङदङ, सिएमसीका अर्का सदस्य मिआओ हुआ, सीएमसी राजनीतिक कार्य विभागका पूर्व उपप्रमुख ह हङजुन र पिएलए रकेट फोर्सका प्रमुख वाङ हाउबिन लगायत वरिष्ठ कमाण्डरहरू छन् ।

त्यस्तै पिएलए रकेट फोर्सका पूर्व कमान्डर ली युचाओ र लिउ गुआङबिन, रकेट फोर्सकै पूर्व राजनीतिक कमिश्नर झोउ यानिङ, पिएलएका नौसेना विभागका वरिष्ठ अधिकारी छु झोङ्बो, सशस्त्र विभागका वरिष्ठ कमाण्डर झाङ झेनझङलाई पनि बर्खास्त अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स लगायतका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यी नौ अधिकारीहरू भ्रष्टाचार र पदसम्बन्धी अपराधमा संलग्न भएको ठोस प्रमाण भेटिएकाले कारबाही गरिएको रक्षा मन्त्रालयले जनाएको छ । सीको यो कदमलाई हालसम्मकै सबैभन्दा ठूलो सैन्य शुद्धीकरण अभियानको रूपमा हेरिएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ । ह वेइदङ सिएमसीका दुई उपाध्यक्षमध्ये एक हुन्।

उनी कम्युनिस्ट पार्टीको पोलिटब्युरोका सदस्य समेत हुन् भने पिएलएका तेस्रो शीर्ष अधिकारी थिए। उनी वरिष्ठ उपाध्यक्ष बन्ने तयारीमा समेत थिए । उनीहरूलाई पार्टीबाट निष्कासन गरी सैन्य अभियोजन कार्यालयमा मुद्दा पठाइएको पनि चिनियाँ रक्षा मन्त्रालयले बताएको छ । उनीहरूको बर्खास्ती चीनको इतिहासमा करिब ६० वर्षपछि पहिलो पटक त्यस्तो उच्च तहका सैन्य अधिकारी हटाइएका हुन् ।

‘चीन र भारतको प्रभाव घटाउन अमेरिकाद्वारा नेपाली युवामाथि एकै वर्ष आधा अर्ब लगानी’

काठमाडौं । अमेरिकी संस्थाले नेपालमा युवाहरूलाई राजनीतिक रूपमा प्रयोग गरेर चीन र भारतको प्रभाव घटाउने प्रयास गरेको खुलासा भएको छ ।

द सन्डे गार्जियनले अक्टोबर ५ मा प्रकाशित गरेको रिपोर्टअनुसार, अमेरिकास्थित इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युटका आन्तरिक कागजातहरूले अमेरिकाले गोप्य रूपमा नेपाली युवाको राजनीतिक सक्रियतासम्बन्धी योजना सञ्चालन गरेको देखाएका छन् ।

‘युवा नेतृत्व : पारदर्शी नीति (युथ लिडरशिप एण्ड ट्रान्सपेरेण्ट पोलिसी)’ नाम दिइएको उक्त योजना अमेरिकाको नेशनल एन्डोमेन्ट फर डेमोक्रेसी (एनईडी) को ३ लाख ५० हजार अमेरिकी डलर बराबरको कोष सहयोगमा सञ्चालन गरिएको थियो ।

रिपोर्टअनुसार, उक्त योजनाको सतही उद्देश्य युवाको राजनीतिक सहभागिता बढाउने, शासन प्रणाली पारदर्शी बनाउने र युवाका सरोकारका विषयमा ध्यान केन्द्रित गर्ने जस्तो देखिए पनि, वास्तविक उद्देश्य भने नेपालमा अमेरिकाप्रति अनुकूल युवा नेतृत्व विकास गरी चीन र भारतको प्रभाव घटाउने थियो ।

रिपोर्ट अनुसार, यो योजना सन् २०२१ जुलाईदेखि २०२२ जुनसम्म सञ्चालन गरिएको थियो । यसअन्तर्गत १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरूलाई राजनीतिक प्रशिक्षण, आन्दोलन र विरोधका रणनीति, डिजिटल मिडियाको प्रभावकारी प्रयोग जस्ता सीपहरू सिकाइएका थिए । योजनाको कार्यान्वयनका क्रममा अमेरिकाले नेपालको सलुसन कन्सल्टेन्ट प्रालिसँग सम्झौता गरी युवाको राजनीतिक सहभागिता सम्बन्धी अनुसन्धान गराएको थियो । उक्त अनुसन्धानमा हुवावे र जेटिइ जस्ता चिनियाँ कम्पनीका उपकरणहरू प्रयोग नगर्न स्पष्ट निर्देशन दिइएको पनि कागजातमा उल्लेख छ ।

रिपोर्टले जनाएअनुसार, यो परियोजना श्रीलंका लगायतका देशहरूमा आईआरआईले अघि सारेको ‘इमर्जिङ लिडर एकेडेमी’ को मोडलमा आधारित थियो । त्यस मोडलमार्फत अमेरिकाले स्थानीय युवाहरूको सञ्जाल निर्माण गरी राजनीतिक नेतृत्वमा प्रभाव पार्ने रणनीति अपनाएको बताइएको छ ।

इजरायली साइबर खुफिया कम्पनी ‘सायब्रा’ द्वारा गरिएको अनुसन्धानमा नेपालका हालैका ‘जेनेरेसन जेड’ आन्दोलनमा पनि बाह्य हस्तक्षेपको सम्भावना देखिएको उल्लेख छ । सायब्रा अनुसार, सो आन्दोलनसँग सम्बन्धित झण्डै ३४ प्रतिशत सोशल मिडिया गतिविधि नक्कली खाताहरूबाट सञ्चालन गरिएको देखिएको छ ।

द सन्डे गार्जियनको दाबी अनुसार, अमेरिकाले नेपालमा युवा नेतृत्वको नाममा गोप्य राजनीतिक अभियान सञ्चालन गरेर आफ्नो रणनीतिक स्वार्थका लागि प्रयोग गरेको देखिन्छ । नेपालमा लोकतन्त्र र युवाको राजनीतिक भूमिकामा यस किसिमको बाह्य हस्तक्षेपले स्वाधीनता र राजनीतिक स्थायित्वमा चुनौती निम्त्याउन सक्ने विशेषज्ञहरूको चेतावनी समेत उद्धृत गरिएको छ ।

चीनको पानी नियन्त्रण योजनाविरुद्ध भारतको मेगा–बाँध योजना

भारत । कुहिरोले ढाकिएका हिमालपाखामा भारतले प्रस्ताव गरेको मेगा–बाँध परियोजनाले चीनसँगको पानी प्रतिस्पर्धामा नयाँ अध्याय थपेको छ । तिब्बतको माथिल्लो भागमा चीनले बनाइरहेको कीर्तिमानी जलविद्युत् परियोजनाको सम्भावित जोखिम रोक्न भारतले बाँध निर्माण गर्न लागेको हो । तर बाँध निर्माणको सम्भावित साइटमा रहेका आदिवासीहरूका लागि भने यो परियोजना विनाशको संकेत बनेको छ ।
‘हामी अन्तिम समयसम्म लड्नेछौँ’, विषमा डुबाइएको बाणसहित धनुष उठाउँदै रिउ गाउँका बासिन्दा तापिर जामोहले भने, ‘हामी यो बाँध बन्न दिने छैनौँ ।’ भारतको उत्तरी कुनामा रहेको रिउ क्षेत्र तिब्बत र म्यान्मासँग जोडिएको छ । प्रस्तावित योजनाअनुसार अरुणाचल प्रदेशमा २८० मिटर अग्लो बाँध निर्माण गरी ४० लाख ओलम्पिक आकारका पौडी पोखरी बराबरको विशाल जलाशय बनाउन सकिनेछ ।
यसबीच चीनले सियाङ (तिब्बतमा यार्लुङ साङ्पो) नदीमा एक खर्ब ६७ अर्ब डलरको याक्सिया परियोजना अघि बढाइरहेको छ । यसमा पाँच जलविद्युत् स्टेशन रहनेछन् जसले विश्वकै सबैभन्दा ठूलो थ्री गोर्जेस बाँधभन्दा तीन गुणा बढी विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ । बेइजिङले यसले तल्लो क्षेत्रमा कुनै नकारात्मक असर नपार्ने दाबी गरे पनि भारतमा चिन्ताको लहर छ ।
चीनले बाँधलाई हतियारको रूपमा प्रयोग गरी तल्लो क्षेत्रमा खडेरी वा ‘पानी बम’ जस्तै बाढी ल्याउन सक्छ भन्ने डर भारतलाई छ । चीनले भने यसलाई आधारहीन प्रचार भन्दै खारेज गरेको छ । अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खान्डुले चीनको परियोजनाविरुद्ध सुरक्षात्मक कदम आवश्यक रहेको बताए ।
भारतले बनाउन लागेको बाँधले ११ हजार दुई सयदेखि ११ हजार छ सय मेगावाट जलविद्युत् उत्पादन गर्नेछ । यसले देशको सबैभन्दा शक्तिशाली बाँधका रूपमा मान्यता पाउनेछ । तर भारतीय अधिकारीहरूको भनाइमा यसको मुख्य उद्देश्य बिजुली उत्पादनभन्दा पनि पानी नियन्त्रण र सुरक्षा हो ।
यस योजनाले भारी वर्षामा अतिरिक्त पानी अवशोषित गर्ने र चीनले अचानक पानी छोडेमा जोखिम कम गर्ने उद्देश्य राखेको छ । भारतका पूर्व राजदूत अशोक के. कान्थाले चीनको योजनालाई ‘लापरवाह’ भन्दै भारतको बाँधलाई ‘रक्षात्मक उपाय’ का रूपमा चित्रण गरे ।
यस परियोजनाले स्थानीय आदिवासीहरूको जीवन र संस्कृतिलाई ठूलो चुनौती दिएको छ । सियाङ नदीलाई पवित्र मान्ने आदि समुदायका बासिन्दाले आफ्नो अस्तित्व नै खतरा भएको महसुस गरेका छन् । ‘यदि नदीमा बाँध बनाइयो भने हाम्रो अस्तित्व समाप्त हुनेछ’, ६९ वर्षीय जामोहले भने, ‘हामी सियाङका सन्तान हौँ ।’
मे महिनामा आदिवासीहरूले परियोजनाको सर्वेक्षण रोक्न विरोध गर्दा सरकारी मेसिनरी जलाइएका थिए । अहिले पनि गाउँहरूमा आन्दोलन जारी छ । हजारौँ आदिवासीले परम्परागत अदालत शैलीको बैठकमा भेला भई परियोजनाविरुद्ध आवाज उठाइरहेका छन् । ‘यदि उनीहरूले यो ठूलो बाँध बनाए भने आदि समुदाय विश्वको नक्साबाटै हराउनेछ’, यिङकिओङका स्थानीय लिकेङ लिबाङले भने, ‘हामी पूर्ण रूपमा विस्थापित हुनेछौँ ।’
विशेषज्ञहरूले यो परियोजना भूकम्प जोखिमयुक्त क्षेत्रमा भएकाले थप खतरा निम्त्याउने चेतावनी दिएका छन् । तर भारतको बाँध निर्माण अभियानलाई रोक्ने सम्भावना न्यून छ । जामोहल भने, ‘यदि यो बाँध बन्ने नै हो भने, त्यस दिन आउनुअघि नै मेरो मृत्यु होस् भन्ने मेरो कामना छ।’ रासस / एएफपी

चीनमा एकै परिवारका ११ जनालाई मृत्युदण्डको सजाय

काठमाडौं । म्यानमारमा स्क्याम सेन्टर (ठगी केन्द्र) चलाएको आरोपमा चीनको अदालतले एक माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

उक्त परिवारका दर्जनौँ सदस्य आपराधिक गतिविधिमा संलग्न भएको पाइएको थियो । परिवारका धेरै अरू सदस्यलाई पनि लामो अवधिको जेल सजाय सुनाइएको छ ।

मिङ परिवार म्यानमारको शान्त सीमावर्ती सहर लौक्काईमा शासन गर्ने चार जातमध्ये एकका निम्ति काम गथ्र्यो । उक्त सहर चीनको सीमानजिकै अवस्थित छ, जसलाई उनीहरूले जुवा, लागुऔषध र ठगी केन्द्रको मुख्य थलोमा परिणत गरिदिएका थिए ।

त्यसविरुद्ध म्यानमारले कडा कारबाही सुरु गर्दै सन् २०२३ मा यो परिवारका धेरै सदस्यलाई गिरफ्तार गरेको थियो । उनीहरूलाई चिनियाँ अधिकारीको जिम्मा लगाइएको थियो । सोमबार वान्जाउको उत्तरी सहरस्थित एक अदालतले माफिया परिवारका कुल ३९ सदस्यलाई सजाय सुनाएको चीनको सरकारी प्रसारक सीसीटीभीले जनाएको छ ।

मन्त्री घिसिङले मागे उत्तरका सडक मर्मतमा चीनको प्राविधिक सहयोग

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच आज (बुधबार) शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नव नियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

भेटमा नेपाल–चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयन अवस्था, चिनियाँ लगानीलगायतका विषयमा छलफल भएको बताइएको छ ।

भेटमा मन्त्री घिसिङले नेपाल र चीनलाई सडक सञ्चालबाट जोड्ने काठमाडौं-कोदारी (अरनिको) र स्याप्रुबेंसी-रसुवागढी सडक महत्वपूर्ण र संवेदनशील रहेको तर पहिरो र कमजोर भौगोलिक अवस्थितका कारण जोखिमयुक्त रहेकाले चिनियाँ प्रविधि प्रयोग गरी सडक मर्मत गरी स्थायी रुपमा सञ्चालनका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेका छन् ।

उनले काठमाडौं उपत्यका चक्रपथ विस्तारअन्तर्गत चिनियाँ अनुदानमा निर्माण हुने कलङ्की-बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न, अरुण नदी करिडोरमा धेरै जलविद्युत आयोजनाहरु निर्माणाधीन रहेको र नेपालको विद्युत् बजारलाई थप प्रतिस्पर्धी बनाउन किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउन आग्रह गरे।

चिनियाँ कम्पनीले ठेक्का लिएका कमला—कञ्चनपुर आयोजनाको निर्माण सन्तोषजनक नरहेको, नारायणघाट-बुटवल र मुग्लिन-पोखरा सडक विस्तारको कामलाई गतिदिन आवश्यक सहयोग र सहजीकरणका लागि पहल गरिदिन आग्रह गरेका थिए । राजदूत सोङले नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्ने चीन सँधै तयार रहेको जवाफ दिएका छन् । भेटमा मन्त्रालयका सचिव केशव कुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक विजय जैसी, परराष्ट्र मन्त्रालय उत्तरपूर्व एशिया महाशाखाका उपसचिव मनहरी दङ्गाललगायतका सहभागिता थियो ।

 

प्रधानमन्त्री कार्कीलाई चीनले दियो बधाई

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई छिमेकी मित्रराष्ट्र चीनले बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्री कार्कीलाई बधाई दिएका हुन् । ‘चीनले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री बन्नु भएकोमा सुशीला कार्कीलाई बधाई छ’ विदेश मन्त्रालयले भनेको छ, ‘चीन र नेपालको मित्रता पुरानो र ऐतिहासिक छ ।’

चीनले सधैंझैँ नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको चीनले सम्मान गर्ने पनि जनाएको छ । ‘हामी नेपालसँग मिलेर पञ्चशीलका सिद्धान्तहरूलाई प्रवद्र्धन गर्ने, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगलाई सुदृढ बनाउने र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउने तयारीमा छौँ,’ चीनले भनेको छ । कार्कीलाई अर्को छिमेकी देश भारतसँगै, बंगलादेश, बेलायल, संयुक्त राष्टसंघ लगायतले पनि बधाइ दिएका छन् ।

स्वदेश फर्किदै प्रधानमन्त्री, बेइजिङबाट उड्यो विमान

काठमाडौं । चीन भ्रमणबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल आज स्वदेश फकिँदै छ । चीनको थियानजिनबाट बेइजिङ पुगेका ओली केहीबेरअघि त्यहाँबाट काठमाडौंका लागि विमान चढेका उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री सवार विमान बेइजिङबाट उडिसकेको छ । स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट ओली बिदाइ भएका छन् ।

राति करिब १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी ओर्लिने छन् । प्रधानमन्त्री ओली यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिनतर्फ प्रस्थान गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरे । उनले शिखर सम्मेलनलाई सम्बोधन गरे । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रूसी महासंघका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारी सहभागी छन् ।

चीनका सैन्य परेडपछि ट्रम्पको आरोप : पुटिन र किम अमेरिकाविरुद्ध षड्यन्त्र गर्दैछन्

काठमाडौं । चीनको विजय दिवस परेड सुरु हुने वित्तिकै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसमा आक्रोश मिश्रित प्रतिक्रिया जनाएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङको आलोचना गरेका छन् । उनले पुटिन र किम जोङले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

ट्रम्पले लेखेका छन्, ‘कृपया भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो न्यानो अभिवादन छ । उनीहरू दुवै संयुक्त राज्य अमेरिका विरुद्ध षड्यन्त्र गरिरहेका छन् ।’ ट्रम्पले चीनको विजयको लागि धेरै अमेरिकीहरूले आफ्नो ज्यान दिएको बताउँदै उनीहरूको बहादुरी र बलिदानको लागि उचित रूपमा सम्मान हुने विश्वास व्यक्त गरेका छन् ।

‘सबैभन्दा ठूलो प्रश्न यो हो कि चिनियाँ राष्ट्रपति सीले आफ्नो स्वतन्त्रता सुरक्षित गर्न संयुक्त राज्य अमेरिकाले चीनलाई कति समर्थन र ‘रगत’ दियो भनेर उल्लेख गर्नेछन् कि गर्दैनन्’, ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘चीनको विजयको लागि धेरै अमेरिकीहरूले आफ्नो ज्यान दिए । मलाई आशा छ कि उनीहरूलाई उनीहरूको बहादुरी र बलिदानको लागि उचित रूपमा सम्मान र सम्झना गरिनेछ ।’ दोस्रो विश्वयुद्धको अन्त्यमा चीनमा जापानले आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सव चीनले मनाउँदैछ । यस अवसरमा विजय दिवस परेड आयोजना गरिँदैछ, जसमा पुटिन र किम लगायत विश्वभरका धेरै नेताहरूले भाग लिएका छन् ।

 

प्रधानमन्त्री ओली सहभागी चीनको विशाल सैन्य परेड {तस्वीरहरु}

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले आज बेइजिङको तियानमेन चोकमा आयोजित भव्य सैन्य परेडमा विश्वले अहिले ‘शान्ति वा युद्ध’ को विकल्पको सामना गरिरहेको बताएका छन् । उनले मानव सभ्यता जोगाउन चिनियाँ नागरिकले गरेको बलिदानबारे चर्चा समेत गरे ।

राष्ट्रपति सी चिनफिङले चीन कहिल्यै कुनै पनि धम्कीसँग नडराएको र नडराउने बताएका छन् । ‘इतिहासले हामीलाई चेतावनी दिन्छ– मानवता सँगै उठ्छ र पतन हुन्छ । चीन कहिल्यै पनि कुनै पनि धम्की दिने व्यक्तिसँग डराएको छैन र सधैँ अगाडि बढेको छ’, सीले भने । उनले भने, ‘नयाँ यात्रा, नयाँ युग हो ।

’दोस्रो विश्वयुद्धको ८० वर्ष पूरा भएको अवसरमा आयोजित ‘विजय उत्सव’ कार्यक्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ–उनसहित विश्वका विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुख अतिथि बनेका थिए । सी, पुटिन र किम सँगसँगै एउटै कार्यक्रममा उपस्थित भएको यो पहिलो अवसर हो ।

सैन्य शक्ति र कूटनीतिक प्रभाव प्रदर्शनका रूपमा गरिएको ७० मिनेट लामो परेडमा क्षेप्यास्त्र, ट्याङ्क, ड्रोनलगायत अत्याधुनिक हतियार प्रदर्शन गरियो । माओ त्से तुङले लगाउने शैलीको सुटमा देखिएका राष्ट्रपति सीले खुला गाडीमा सैनिक निरीक्षण गर्दै उपस्थित ५० हजारभन्दा धेरै दर्शकलाई सम्बोधन गरेका थिए । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि अवलोकनमा सहभागी भए । औपचारिक समारोहपछि चिनियाँ राष्ट्रपति सीले दिवाभोज आयोजना गरेका छन् । दिवाभोजपछि प्रधानमन्त्री ओली आजै स्वदेश फर्किने कार्यक्रम छ ।

बेइजिङ सैन्य परेड : ओली, पुटिन, किमसहित ५० हजार पाहुना सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज जापानी उपनिवेशविरुद्ध चीनले आयोजना गरेको विशाल सैन्य परेडमा सहभागी भएका छन् ।चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले अहिले चीनको तियानमेन स्क्वयारमा भइरहेको भव्य परेड अवलोकन गरिरहेका हुन् ।

परेडमा ओलीसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उनलगायत २६ देशका राष्ट्र तथा सरकार प्रमुख र ५० हजार पाहुना उपस्थित छन् ।

चीनको पैचिङस्थित थ्येनआनमन चोकमा चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोह आयोजना गरिएको हो ।

समारोहलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले महत्वपूर्ण सम्बोधन र सेनाको अवलोकन निरीक्षण गरेका थिए । चीनको सातौं स्थापना दिवसको अवसरमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य र १२ औं स्थापना दिवसमा तत्कालीन राजा महेन्द्रले परेड अवलोकन गरेका थिए ।

भदौ १४ गते तीन भ्रमणमा गएको प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आजै स्वदेश फर्किदै छ । शाङ्घाई सहयोग संठन (एससिओ) शिखर सम्मेलनमा सहभागी गएका ओली राति आठ बजे काठमाडौं आईपुग्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनबाट फर्किए लगत्तै प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारहरुलाई भ्रमणबारे जानकारी दिने मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिएका छन् । भ्रमणका क्रममा ओलीले शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै चिनिया राष्ट्रपति सी चिनफिङसहित बिभिन्न देशका राष्ट्र प्रमुखहरुसँग साइडलाईन भेटवार्ता गरेका थिए ।

चीनको विजय दिवस परेड : एकसाथ देखिए पुटिन, किम र सी

काठमाडौं । चीनको राजधानी बेइजिङमा आज विजय दिवस परेड आयोजना हुँदैछ, जसमा चीनले आफ्नो सैन्य शक्ति प्रदर्शन गर्ने भएको छ ।

दोस्रो विश्वयुद्धको अन्त्यमा चीनमा जापानले आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सवको अवसरमा राष्ट्रपति सी चिनफिङले चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेड आयोजना गर्दैछन् ।

परेड अघि चिनियाँ राष्ट्रपति सी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन सँगै देखिएका थिए । यो पहिलो पटक हो कि तीन नेताहरू सार्वजनिक रूपमा एकसाथ देखा परेका छन् ।

यी तीन नेताहरू परेड हेर्न आएका विश्वभरका नेताहरूको लाइनको अग्रपंक्तिमा छन् । चीनले यस परेडमा आमन्त्रित २६ नेताहरूको सूची जारी गरेको छ । यद्यपि, यो परेडमा को को पुगेका छन् भन्ने कुरा अझै स्पष्ट भएको छैन ।

यस सूचीमा पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ सहित भियतनाम, मलेसिया, बेलारुस, इरान, जिम्बाब्वे, सर्बिया, स्लोभाकिया, क्युबा र म्यानमार जस्ता देशका नेताहरूको नाम समावेश छ ।

प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता

बेइजिङ (चीन) । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उपराष्ट्रपति हान चङ्गबीच द्विपक्षीय भेटवार्ता भएको छ । बेइजिङस्थित सरकारी अतिथिगृह देउथाई स्टेट गेष्टहाउसमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा चिनियाँ पक्षले दुईपक्षीय कूटनीतिक सम्बन्ध विस्तारका साथै दुवै देशलाई लाभ हुने आयोजना अघि बढाउने विषयमा छलफल गरेको थियो । त्यसैगरी नेपाली पक्षले औपचारिक भ्रमणका लागि आमन्त्रण गरेकामा र उच्चस्तरीय भेटवार्ताका लागि चीन सरकारप्रति आभार व्यक्त गरेको थियो । प्रधानमन्त्री ओलीले शाङ्घाई सहयोग संगठन (एससिओ) बैठक उपलब्धिमूलक भएको धारणा व्यक्त गरेका थिए ।

भेटमा नेपाली पक्षले एक चीन नीतिप्रति स्पष्ट रहेको दोहो¥याउँदै चीनकाविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको थियो । आजै उपराष्ट्रपति हानले नेपाली प्रतिनिधिमण्डलको स्वागतमा रात्रिभोज आयोजना गरेका थिए । थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री ओली आजै बेइजिङ गएका हुन् ।

सैन्य परेड अवलोकन गर्न बेइजिङ पुगे प्रधानमन्त्री ओली (तस्वीरहरु)

काठमाडौं । चीनको थियानजिनमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् । उनी थियाजिनको कार्यक्रम सकेर रेलमार्गबाट बेइजिङ पुगेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका छन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ । उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ ।

भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ । त्यस क्रममा चिनियाँ सैन्य परेड देखाइनेछ । जसमा प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्वका नेताहरूसँग देखिने छन् । सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ ।

हेर्नुस् तस्वीरहरु :