चीनका सैन्य परेडपछि ट्रम्पको आरोप : पुटिन र किम अमेरिकाविरुद्ध षड्यन्त्र गर्दैछन्


काठमाडौं । चीनको विजय दिवस परेड सुरु हुने वित्तिकै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसमा आक्रोश मिश्रित प्रतिक्रिया जनाएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङको आलोचना गरेका छन् । उनले पुटिन र किम जोङले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
ट्रम्पले लेखेका छन्, ‘कृपया भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो न्यानो अभिवादन छ । उनीहरू दुवै संयुक्त राज्य अमेरिका विरुद्ध षड्यन्त्र गरिरहेका छन् ।’ ट्रम्पले चीनको विजयको लागि धेरै अमेरिकीहरूले आफ्नो ज्यान दिएको बताउँदै उनीहरूको बहादुरी र बलिदानको लागि उचित रूपमा सम्मान हुने विश्वास व्यक्त गरेका छन् ।
‘सबैभन्दा ठूलो प्रश्न यो हो कि चिनियाँ राष्ट्रपति सीले आफ्नो स्वतन्त्रता सुरक्षित गर्न संयुक्त राज्य अमेरिकाले चीनलाई कति समर्थन र ‘रगत’ दियो भनेर उल्लेख गर्नेछन् कि गर्दैनन्’, ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘चीनको विजयको लागि धेरै अमेरिकीहरूले आफ्नो ज्यान दिए । मलाई आशा छ कि उनीहरूलाई उनीहरूको बहादुरी र बलिदानको लागि उचित रूपमा सम्मान र सम्झना गरिनेछ ।’ दोस्रो विश्वयुद्धको अन्त्यमा चीनमा जापानले आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सव चीनले मनाउँदैछ । यस अवसरमा विजय दिवस परेड आयोजना गरिँदैछ, जसमा पुटिन र किम लगायत विश्वभरका धेरै नेताहरूले भाग लिएका छन् ।