प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा चतुर्दशीको जात्रा प्रारम्भ


बैतडी, १९ भदौः यहाँको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीका अवसरमा लाग्ने जात्रा सुरु भएको छ । मेला भाद्र शुक्ल द्वादशीबाट सुरु भएको निङ्गलाशैनी भगवती मन्दिरका मूल पुजारी देवदत्त भट्टले जानकारी दिनुभयो ।
भाद्र शुक्ल द्वादशीका दिन निङ्गलाशैनी भगवती मन्दिरको भण्डार घरबाट मन्दिरमा भण्डार ल्याउने प्रचलन रहेको उहाँले बताउनुभयो । । सोही प्रचलनअनुसार आज भण्डार घरबाट माताको सवारी मन्दिरमा गराइएको छ ।
भाद्र शुक्ल द्वादशीबाट जात्रा सुरु हुने र तीनरात जाग्राम बस्ने भक्तजनहरुले आजैदेखि मन्दिरमा बस्न सुरु गरेको पुजारी भट्टले बताउनुभयो । चतुर्दशीका अवसरमा लाग्ने मेलामा बैतडीको स्वराड र सदरमुकाम क्षेत्रबाट ठकुरीले जात्रा ल्याउने प्रचलन रहिआएको छ ।
परापूर्वकालमा निङ्गलाशैनी भगवतीले न्याय दिएको हुनाले दुवै क्षेत्रबाट जात्रा ल्याउने चलन रहिआएको हो । यो जात्राको मुख्य आकर्षण भनेकै स्वराडी–बैतडाको जात रहेको स्थानीय दीपेन्द्र बोहराले बताउनुभयो ।
भाद्र शुक्ल त्रयोदशीका दिन स्थानीय भाषामा नानी जात भन्ने चलन रहिआएको छ भने भदौ शुक्ल चतुर्दशीका दिन लाग्ने मेलालाई ठूली जात भन्ने चलन रहिआएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका कार्यवाहक अध्यक्ष एवं भण्डारे चक्रबहादुर बोहराले बताउनुभयो ।
निङ्गलाशैनी भगवती मन्दिरमा वर्षको चारपटक जात्रा लाग्ने गर्दछ । यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीसमेत दर्शनका लागि पुग्ने गर्दछन् ।
महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने भए पनि अनन्त चतुर्दशी र धान्यपूर्णिमाका दिन लाग्ने मेलामा भने बलि दिने चलन नरहेको भण्डारे बोहराले बताउनुभयो । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलामा देउडासमेत हुने गरेको छ ।