ई–७ भिसामा कोरिया श्रमिक पठाउने प्रक्रिया नटुंगिँदै ठगी सुरु


काठमाडौं । दक्षिण कोरियाको ई–७ भिसामा श्रमिक पठाउने प्रक्रिया पूरा नहुँदै ठगी धन्दा सुरु भएको छ । सरकारले दक्षिण कोरियाको ई–७ भिसामा श्रमिक पठाउने व्यवस्था गर्न लागेका बेला केही व्यवसायीले युवालाई कोरिया पठाउने आश्वासनसहित पैसा उठाउन थालेको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
ई–७ भिसामा कोरिया पठाइदिने प्रलोभन देखाएर केही समूहले पैसा असुली गरेको उजुरी आएको विभागले जनाएको छ ।
अहिलेसम्म ई–७ भिसा प्रक्रियामै छ । सरकारले यसका लागि पूर्वश्रम स्वीकृति जारी गरेको छैन । वैधानिक रूपबाट वैदेशिक रोजगारीमा जान सबैभन्दा पहिले विभागबाट पूर्वश्रम स्वीकृति लिनु पर्छ ।
कोरियामा रोजगारीका नाममा अवैध रूपमा रकम असुली हुन थालेको जानकारीमा आएपछि विभागले स्पष्ट पार्न सूचना जारी गरेको छ । सूचनामा ई–७ भिसाका नाममा अनधिकृत व्यक्तिलाई पैसा नदिन सबैमा अनुरोध गरिएको छ ।
“हालका दिनमा ई–७ भिसामार्फत दक्षिण कोरिया पठाइदिन्छु भनी गैरकानुनी रूपमा प्रचार गरेर रकम असुली भइरहेको भन्ने गुनासो आएकाले विभागको ध्यानाकर्षण भएको छ,” विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट कोरियामा सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० फागुनमा स्वीकृत भएको र यही साउनमा संशोधनसहित अन्तिम स्वीकृत भएपश्चात् सो कार्यविधि कार्यान्वयनको चरणमा रहेको छ ।
यस्तै कोरियास्थित नेपाली दूतावासबाट यही भदौ १७ मा प्रकाशित विज्ञप्तिमा समेत हालसम्म ई–७ भिसाका लागि कार्यविधिमा उल्लेखित प्रक्रिया पूरा गरी मागपत्र प्रमाणीकरणका लागि कुनै पनि आवेदन नआएको उल्लेख छ । विभागले त्यस्ता व्यवसायीसँग सचेत रहन युवालाई आग्रह गरेको छ ।